पुनर्कर्जाबापत अब बैंकलाई ९२ अर्ब

  • कालिका खवर
  • बिहिबार, पुस ८, २०७८
  • अर्थतन्त्र पुनरुत्थानतर्फ जान लागेकाले सूचकहरू कमजोर देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। पुनरुत्थानकै कारण आयात र कर्जा वृद्धिदर उच्च रहेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको चरम अभाव भइरहेका बेला राष्ट्र बैंकले पुनर्कर्जाबापत ९२ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। थप कर्जा दिन नसकेका बैंकलाई यसले सहजता ल्याउनेछ। उक्त रकम दुई चरणमा प्रवाह हुनेछ।

    पुनर्कर्जाबापतको ऋणलाई मूल्यांकनको दायरामा ल्याइने भएको छ। बजारमा तरलता समस्या भइरहेका बेला यो पुँजीले राहत मिल्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ। स्वीकृत पुनर्कर्जा वापतको रकम आगामी हप्ता ५२ अर्ब र यसपछि ४० अर्ब दिने तयारी भएको उनले बताए।

    राष्ट्र बैंकले बुधबार समसामयिक विषयमा अन्तरक्रिया आयोजना गरेको थियो। तरलता सहज बनाउन पुस ५ सम्म खर्बौं रकम बजारमा पठाएको राष्ट्र बैंकले जनाएको छ। स्थायी तरलता सुविधामार्फत २५ खर्ब, ओभरनाइट रिपोमार्फत ६९ अर्ब, रिपोमार्फत २ खर्ब २० अर्ब रकम बैंकिङ प्रणालीमा पठाएको थियो।

    उच्च आयातका कारण तरलता अभाव भएकाले आयातमा कडाइ गरेको गभर्नर अधिकारीले बताए। कम आवश्यकताका वस्तु ल्याएर वर्र्षौंसम्म बिस्कुन सुकाएर स्टक राख्नुभन्दा केही समय निरुत्साहन गर्न उचित भएको उनको तर्क थियो।

    विदेशी मुद्राको मुख्य स्रोत रेमिट्यान्स हो। कोभिडका कारण पर्यटनबाट विदेशी मुद्रा आम्दानीको अवस्था कमजोर छ। यस अवस्थामा रेमिट्यान्सको अपेक्षा हो । तर चालू आवको चार महिनामा औसत ७८ अर्बको दरले मात्रै रेमिट्यान्स आएको छ। मंसिर र पुसको तथ्यांकमा सुध्रिन सक्ने राष्ट्र बैंकको अनुमान छ।

    राष्ट्र बैंकले हालै कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा निक्षेप अनुपात (सीडी रेसियो) जारी गरेको छ। सीसीडी खारेज गरे पनि यसलाई आन्तरिक मूल्यांकन गरिरहेको  बैंक तथा वित्तीय संस्था विनिमय विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल बताउँछन्। ‘अहिले सीडी रेसियो औसतमा ९२ प्रतिशत छ। सीसीडी रेसियो पनि ९१ प्रतिशत पुगेको छ। सीडी लागू गरेका कारण तरलता अभाव भएको होइन।’

    सोही समयभित्र सीडी रेसियो सीमामा ल्याउन लागेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले जानकारी दिए। चालू आवको सुरुबाटै निक्षेप वृद्धिको तुलनामा कर्जावृद्धि अधिक देखियो। कर्जा वृद्धि पाँच आवकै उच्च देखिएको छ। आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले चालू आवको पुस ६ सम्म १ खर्ब १६ अर्ब निक्षेप परिचालन हँुदा कर्जा भने ४ खर्ब ३८ अर्ब प्रवाह भएको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs