स्थानीय चुनाव वैशाखमै हुन्छ : प्रधानमन्त्री

  • कालिका खवर
  • बुधबार, माघ ५, २०७८
  • प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका छन्। देउवाले उक्त निर्वाचनमा सत्ता गठबन्धन कायमै रहने ‘विश्वास’ दिलाएका छन्।

    निर्वाचन सार्न खोज्यो भनेर फन्डा मच्चाइयो’, प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘फन्डाबाट मुक्त होऔं। वैशाखमा चुनावमा जाऔं।’ सत्ता सहयात्री दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले निर्वाचनसम्म गठबन्धन कायम रहने/नरहने भनी आशंका गरिरहेका बेला देउवाले ‘शंका’ नपाल्न आग्रह गरेका हुन्।

    ‘स्थानीय तहको निर्वाचनमा हामी एक ठाउँ हुन्छौं। कसैले पनि शंका नगरौं’, सत्तासीन दलको राजनीतिक समन्वय समितिको मंगलबारको बैठकमा देउवाले भने। तर, सरकारले निर्वाचनको समय घर्कायो वा सार्न खोज्यो भन्ने आरोप आफूमाथि आउन नहुनेमा उनले जोड दिएका थिए। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान र कानुनले तोकेको समयभित्रै निर्वाचन हुनुपर्ने बताए। तर, ‘गठबन्धन के हुन्छ’ भनी दाहालले देउवासमक्ष प्रश्न गरेका थिए।

    नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले निर्वाचन आयोगले प्रस्ताव गरेको वैशाख १४ गतेको मिति निर्वाचन ऐनअनुसार अमिल्दो भएको बताएका थिए। जेठ ५ गते स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले चैत ५ गते निर्वाचन गर्नुपर्ने ऐनको व्यवस्थाबारे नेता तुलाधरले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए। मिति तल–माथि गर्ने भए असोज, कात्तिक वा मंसिरमा जान सकिने उनको प्रस्ताव थियो।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव बैठकमा अनुपस्थित थिए। स्थानीय निर्वाचनको मितिबारे कानुनविद्, निर्वाचन आयोग र सरोकारवालासँग सरकारले परामर्श गर्ने नेताहरूले बताए। फेरि बुधबार शीर्ष नेताहरूको बैठक बसी टुंगोमा पुग्ने सहमति बनेको उनीहरूले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs