
काठमाडौं : नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। बुधबार भर्चुअलमाध्यमबाट पत्रकार सम्मेलन गर्दै विभागले महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको जानकारी दिएको हो।
२०६८ सालको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । अहिले जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनामा वृद्धिदर १.३५ प्रतिशत थियो ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको प्रतिवेदन पहिलोपटक स्थानीय तहसम्मको प्रकाशन गरेको छ। वि.सं २०६८ सम्म जिल्लास्तरको तथ्याङ्कको मात्र प्रतिवेदन सार्वजनिक गरिन्थ्यो।
राज्य सङ्घीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहको प्रतिवेदन प्रकाशन गरिएको छ। गत वैशाखमा गणना गर्ने तयारी गरिएकामा नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणकले घरघर पुगेर फाराम भरेका थिए।
नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको हो।राज्य पुनःसंरचना भएपछिको यो पहिलो जनगणना हो।