त्रि.वि. प्रगतिशील कर्मचारी संगठनको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, चैत्र ८, २०७८
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुको वर्गीय हकहितका लागि २०५५ सालमा स्थापना भएको त्रि.वि. प्रगतिशील कर्मचारी संगठनको छैटौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
    राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेल आउने कार्यक्रम रहेकोमा अन्तिम समयमा महासचिव आउन नसक्ने जानकारी भए पछि विशिष्ट अतिथि नेकपा एमालेका पेशागत महासंघका इन्चार्ज बाबुराम थापाले सम्मेलनको उद्घाटन गर्नु भएको हो ।
    उद्घाटन कार्यक्रममा मन्तव्य राख्ने क्रममा इन्चार्ज थापाले त्रि.वि. कर्मचारी संगठन पार्टीका २७ वटा घटक मध्येको पेशागत महासंघ अन्तगत रहेको त्रि.वि. प्रगतिशील कर्मचारी संगठन पेशागत संगठनका उद्देश्य र कार्यक्षेत्रको अधिनमा रही श्रमिकहरुको पेशागत संरक्षणमा लाग्न निर्देशन दिनुभयो । साथै अब संविधानमा नै श्रमिकको राजनीतिक अधिकार सहितको टे्ड यूनियनको आन्दोलनमा लाग्नुपर्नेमा सबै पेशागत संगठनहरुले पुनर्विचार गर्नुपर्ने वेला आएकोमा जोड दिनु भयो ।

    त्यसैगरी कार्यक्रममा उपत्यका प्रदेश कमिटी अध्यक्ष प्रेम पराजुलीले देशमा सामन्तवाद अन्त्य भएता पनि पुँजीवाद मौलाइरहको अवस्थामा पेशागत संगठनहरु पनि समाजवाद स्थापनाको संघर्षमा उत्रिनुपर्ने बताउनु भयो । कार्यक्रममा मन्तव्य राख्दै विश्वविद्यालय कर्मचारी संघका सचिव छत्र कार्कीले विश्वविद्यालयहरुमा सीमित राजनीतिक तथा व्यक्तिगत कुन्ठाबाट विश्वविद्यालयहरुलाई बन्धक बनाएर राख्ने प्रचलनको विरोधमा सबै संघ संगठनहरु जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
    उक्त कार्यक्रममा त्रि.वि. कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष पूर्ण प्रसाद आचार्य, त्रि.वि. प्रजातान्त्रवादी कर्मचारी संघका अध्यक्ष प्रकाश पुडासौनी, त्रि.वि. राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष शालिकराम सापकोटासहितले सम्मेलनको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अन्य वैचारिक संघ संगठन परित्याग गरी त्रि.वि. प्रगतिशील कर्मचारी संगठनमा आवद्ध हुने कर्मचारीहरुलाई विशिष्ट अतिथि वाबुराम थापाले खादा लगाइ स्वागत गर्नु भएको थियो । संगठनका अध्यक्ष हेमराज न्यौपानेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष राजी खड्काले र कार्यक्रममा सञ्चालन सचिव बसन्तकुमार श्रेष्ठले गर्नु भएको थियो । उक्त सम्मेलनले छत्रबहादुर कार्कीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत मनोनयन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs