काठमाडौ : चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमण सकेर आइतबार स्वदेश फर्केका छन् । विदेशमन्त्री वाङले नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सोही क्रममा नेपाल र चीनबीच नेपालको पूर्वाधार निर्माणका क्षेत्रको विकासका लागि दुई देशबीच नौ बुँदे सहमति भएको छ । तर चीन नेपालबीच भएका सम्झौताहरूको कार्यान्वयन पक्ष कमजोर रहने गरेका अवस्थामा नेपाल चीनबीच भएका पछिल्ला सम्झौता कार्यान्वयन होलान् त ? भन्ने विषयमा समेत आशङ्का हुँदै आएको छ ।
परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ यो पटकका सम्झौता कार्यान्वयनमा जानेमा आफू विश्वस्त रहेको बताएका छन् । श्रेष्ठले यो पटक नेपाल चीनबीच भएका सम्झौतामा बीआरआई उल्लेख नगरे पनि बीआरआईभित्रकै आयोजनाहरू रहेको बताए । ‘नौ सम्झौताहरूमा बीआरआई भनेर ट्याग नलगाए पनि त्यसभित्रका सम्झौताहरू बीआरआईसँग नै सम्बन्धित छन्’, श्रेष्ठले भने, ‘बीआरआई परियोजना भनेको नै कनेक्टिभिटी र इन्फास्टक्चरसँग सम्बन्धित छ । अहिलेको सम्झौता पनि त्यही हो ।