वीरगंज – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगंजमा शक्ति प्रर्दशन गरेको छ। पार्टीका सबै शीर्ष नेताहरु अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, अनिल झालगायतको सहभागितामा वीरगंजमा बृहत् र्यालीसहित शक्ति प्रदर्शन गरेको हो ।
निर्वाचन नजिकिँदै जाँदा मधेसका प्रभावशाली नेताहरुलाई पार्टीमा ल्याएर पार्टीलाई अझै बलियो बनाउने उद्देश्यले लोसपाले शनिबार शीर्ष नेताहरुसहित वीरगंजको चिनी मिल आवास क्षेत्रबाट सयौंको संख्यामा चार पाङग्रे गाडी र मोटरसाइकलसहित निस्किएको ‘स्वभिमान यात्रा’ नामक र्याली निकालेको थियो ।सो र्याली वीरगंज महानगरको विभिन्न भागहरुको परिक्रमा गर्दै नगर सभागृहमा आयोजना गरिएको स्वभिमान सभामा समाहित भएको थियो ।
नगर सभागृहमा आयोजित लोसपाको स्वभिमान सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले अहिले पनि मधेशी जनता आन्दोलनमा रहेको बताउनु भयो । राज्य हरेक आन्दोलनमा हिन्सक निति अख्यिार गर्ने गरेको भए पनि हाल सम्मको उपलब्धी आन्दोलनकै जगमा प्राप्त भएको ठाकुरले बताउनु भयो । उनले हरेक परिवर्तन आन्दोलनबाट नै हुने गरेको बताएका थिए । अध्यक्ष ठाकुरले स्थानीय तहको चुनावमा आवश्यकता अनुसार अन्य दलसँग तालमेल गर्ने बताएका थिए ।
सभालाई सम्बोधन गर्दै पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनतालाई अहिले पनि अधिकारबाट बन्चित गरिएको बताउनु भयो । उनले मधेशी जनता राज्यबाटै उपनिवेशको शिकार भएको बताउनु भयो । मधेशको राजधानी वीरगंज हुनु पर्ने भएपनि समग्र मधेश एक प्रदेश हुन नसकेको कारण वीरगंजलाई राजधानी बनाउन नसकिएको उनले बतँएका थिए ।सभालाई सबै केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए भने सभामा पार्टीको सांस्कृतिक परिषदले मधेशी भवनासँग सम्बन्धित संगेतिक प्रस्तुती समेत गरेका थिए ।
लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाको अध्यक्षतामा भएको सभामा पूर्वमन्त्री बिमल श्रीवास्तव, प्रदेश सांसद रमेश पटेल, नेता लक्ष्मणलाल कर्ण, शशीकपुर मिया, प्रहलाद गिरी, नेजामोदिन सामानी, महिला नेतृ रम्भा मिश्रा, मुनी श्रीवास्तव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन लोसपा वीरगंज महानगर समितिका अध्यक्ष ओमप्रकाश सर्राफले गरेका थिए ।