काठमाण्डाै – गएको वर्ष उद्घाटन भएको मेलम्ची खानेपानी आयोजनाको आउँदो मङ्गलवार फेरि उद्घाटन हुने भएको छ ।
चैत २९ गते सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
खानेपानी मन्त्री उमाकान्त चौधरीका अनुसार मेलम्ची आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको छ । मेलम्चीको उद्घाटनपछि काठमाण्डौ उपत्यकामा पानी सहज रुपमा वितरण गनेगरी सम्पूर्ण तयारी पूरा भएको मन्त्री चौधरीले जानकारी दिनुभयो ।
पूर्व प्रधानमन्त्री भट्टराईले २०५१ सालमा मेलम्ची काठमाण्डौमा ल्याउने परिकल्पनासहित घोषणा गर्नुभएको थियो । एक वर्षअघि २०७७ साल चैत १५ गतेदेखि परीक्षणका रूपमा काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो ।
लगत्तै २० गते राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची आयोजनाको उद्घाटन गर्नुभएको थियो । तर गएको असार एक र साउन १७ गतेको बाढीले आयोजनामा क्षति गरेको थियो ।