केपी ओलीको गृहनगरमा राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन

  • कालिका खवर
  • शनिबार, चैत्र २६, २०७८
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई आर्थिक टाट पल्टाउनेहरुसँग हिसाबकिताब माग्ने बताएका छन् । झापाको दमकमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश ऋणले चुर्लुम्म डुबेको भन्दै यसको दोष वर्तमान राजनीतिका ठूला दलहरुले लिनुपर्ने बताए । ‘अहिले देश ऋणमा चुर्लुम्म डुबेको छ । आफ्नो आम्दानीले सामान्य गतिविधिसम्म धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सरकारको विभिन्न मानिसले भनिरहेका छन् देशको अवस्था ठिक छैन भनेर । बैंक रित्तिएको छ, साना साना ठेक्काको काममा पनि भुक्तानी पाएका छैनन् । ४ वर्षभित्रमा ८ खर्बमा भएको राष्ट्रिय ऋण अहिले १७ अर्ब पुगेको छ ।’ लिङ्देनले आर्थिक रुपमा टाट पल्टाउनेहरुसँग राप्रपाले हिसाव किताब गर्ने चेतावनी पनि दिए । उनले विकृति विसंगति र भ्रष्टाचारविरुद्ध उत्रनका लागि राप्रपामा गोलबद्ध हुन पनि अपिल गरे । कार्यक्रममा बोल्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले एमाले नेतृत्वको सरकारले अरबौं भ्रष्टाचार गरेको भन्दै फेहरिस्त सुनाए । ‘झापामा आएर भन्न मन लाग्यो, एमाले सरकारले अरबौं भ्रष्टाचार गरेको छ,’ शाहीले भने, ‘दमक नगरपालिकामा मात्रै ३ वर्षमा ८ करोड ९८ लाख बेरुजु देखिएको छ ।’ उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने र राजतन्त्रबारे जनमतसंग्रह हुनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs