एमाले पर्साका जिल्ला सचिवालय सदस्य सुदिप लामा जसपामा प्रवेश

  • कालिका खवर
  • आइतवार, बैशाख ११, २०७९
  • वीरगञ्ज – नेकपा एमालेका प्रभावशाली नेता एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा सुदिप लामाले जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् ।

    पर्सामा नेकपा एमालेले कम्युनिष्ट सिद्धान्त विपरित काम गरिरहेको र पार्टीमा पुँजीवादीहरु हावी भएको आरोप लगाउँदै लामाले पार्टी परित्याग गरेका हुन् । लामाको प्रवेशले एमालेलाई ठूलो क्षति पुग्ने देखिएको छ । वीरगञ्जको शहरी क्षेत्र भित्र मतदातामा राम्रो पकड भएका लामाले जसपा प्रवेश गर्दा एमालेको ठूलो भोट बैंकमा समेत असर पर्ने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

    लामालाई आइतबार पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सङ्घीय सांसद् प्रदीप यादव र जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले फुलमाला र अविर लगाएर पार्टी प्रवेश गराएका छन् ।

    नेकपा एमाले पर्साका केही व्यक्तिले पार्टीलाई एकलौटी तरिकाले चलाएर नवप्रवेशीहरुलाई प्रथामिकतामा राखी वर्षौंदेखि पार्टीमा लगानी गरेकाहरुलाई वेवास्ता गरेको लामाले बताए । ‘नेकपा  एमाले पर्सा अब कम्युनिष्टहरुको पार्टी रहेन । यहाँ पुँजीवादहरु हावी भएका छन् । एकजना व्यक्तिलाई जिताउन सबैलाई वेवास्ता गरिरहेका छन्,’ लामाले यात्रा डेलीलाई भने, ‘यसरी पार्टी दिर्घकालिन समयसम्म चलन सक्दैन । पार्टी समाप्त हुन्छ ।’

    पार्टीले कार्यकर्ताको लगानी नबुझेको कारण आफूसहित सयौं जनाले आजदेखि एमालेसँगको यात्रालाई अन्त्य गरेर जसपासँग नयाँ यात्रा सुरु गरेको बताउँदै लामाले भने, ‘४४ सालदेखि पार्टीमा गरेको लगानीको मूल्यांकन भएन । त्यसैले एमालेसँगको यात्रा टुंग्याएर जसपालाई रोजेको छु । जनताको अधिकार र धरातलमा बसेर काम गर्ने पार्टी जसपानै भएकोले यसमा प्रवेश गर्ने हामी सबैले निर्णय गर्यौं ।’

    लामालाई जसपामा स्वागत गर्दै सांसद् प्रदीप यादवले नेकपा एमाले  पर्साका जिल्ला सचिवालय सदस्य एवम् प्रजातान्त्रिक आन्दोलनका अगुवा सुदीप लामासहित सयौं समर्थकले जसपा प्रवेश गर्दा पार्टी झन् बलियो भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs