वीरगञ्ज महानगरको मेयरमा १२ जनाको उम्मेदवारी दर्ता

  • कालिका खवर
  • आइतवार, बैशाख ११, २०७९
  • वीरगञ्ज – स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन वीरगञ्ज महानगरपालिकाको मेयरमा १२ जनाले उम्मेदवार दिएका छन् ।

    मनोनयन दर्ताका लागि निर्वाचन आयोगले दुई दिनको समय दिएको छ । पहिलो दिन मुख्य दलहरुले मनोनयन नदिएपनि अन्य दल र स्वतन्त्र गरेर १२ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

    जिल्ला समन्वय समिति पर्साको कार्यालयमा स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पहिलो दिन आइतवार वीरगञ्जको मेयर पदका नेपाल सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट एक/एक जना  स्वतन्त्रबाट १० जनाले गरी कूल १२ जनाले मनोनयन दर्ता गराएको महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

    महानगरको मेयरमा १२ जनाले मनोनयन दर्ता गराएपनि पहिलो दिन उपमेयरमा एकजनाले पनि दर्ता नगराएको पौडेलले बताए ।

    त्यसैगरी वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका वडा अध्यक्ष पदमा पनि १९ जनाले मनोनयन दर्ता गराएका छन् ।
    नेकपा एकीकृत समाजवादी, राप्रपा, जनमत पार्टी र विवेकशील पार्टीका एक/एक स्वतन्त्रबाट १५ जनाले विभिन्न वडाको वडा अध्यक्ष पदमा मनोनयन दिएको पौडेलले बताए ।

    यसैगरि महानगरको दुई वडा सदस्य पदका लागि २९ जना,  महिला वडा सदस्यका लागि १० जना र दलित महिला वडा सदस्यका लागि ६ जनाले मनोनयन दिएका छन् ।

    मनोनयन दर्ताका लागि पहिलो दिन आइतवार वीरगञ्जको मेयर र उपमेयरका लागि मुख्य राजनीतिक दलहरुको तर्फबाट कसैको पनि उम्मेदवारी नपरेको पौडेलले बताए ।

    नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी लगायतका मुख्य दलहरुले मनोनयनका लागि सोमवारको समय लिएको पौडेलले जानकारी दिए ।

    वीरगञ्ज महानगरमा छुट्टा छुट्टै दुइ गठबन्धन गरेका प्रमुख दलहरुले मेयर, उपमेयर र वडा अध्यक्षका उम्मेदवारको अन्तिम टुङगो लगाउन नसकेका कारणले सोमवार मनोनयन दर्ता गराउने बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs