पोखरा । नेकपा एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको छ ।
शनिबार एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंग्याएको थियो । तर, उपमेयर मञ्जुदेवीले आफू उपमेयरमा नउठ्ने बताएकी थिइन् भने मेयरका उम्मेदवार पौडेलले पोखरामा सुन सिक्री चोेरेको भन्दै भिडियो भाइरल भएपछि एमालेले फेरि उम्मेदवारबारे छलफल थालेको थियो । एमालेले पौडेलको ठाउँमा पूर्व मेयर तथा सांसद कृष्ण थापाको नाम टुंगो लगाएको हो । कास्कीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रतिस्ठाको लडाइँले पनि यहाँको एमाले राजनीतिलाई ध्रुवीकरण गरेको छ । यसअघि सांसदले मेयर लड्न नपाउने गरी केन्द्रले निर्णय गरेको पृथ्वीसुब्बाले सार्वजनिक गरेका थिए । तर, खगराज समूहले थापालाई मेयर हुनबाट रोक्नकै लागि यस्तो गरेको आरोप लगाएको थियो ।