लोसपा महानगर उपाध्यक्षले गरे जसपामा प्रवेश

  • कालिका खवर
  • सोमवार, बैशाख १२, २०७९
  • वीरगञ्ज – शुरुदेखि नै कम जनाधारका कारण कमजोर रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को अवस्था निर्वाचनको संघारमा झनै कमजोर बनेको छ ।

    आन्तरिक विवाद र किचलोका कारण संगठनको महानगर कमिटिका उपाध्यक्षसहित विभिन्न एकाई कमिटिका अध्यक्षसहित पदाधिकारीहरुले पार्टी त्याग्न सुरु गरेसँगै लोसपा अझ कमजोर बनेको हो ।

    कमजोर अवस्थाबाट लोसपालाई सशक्त बनाउने प्रयासमा रहेको वीरगञ्ज महानगरपालिकामा लोसपाले नेकपा एमालेसँग तालमेल गर्ने निर्णय गरेसँगै पार्टीको उँदोगति शुरु भएको छ । एमालेसँग तालमेल गर्ने लोसपा जिल्ला कार्यसमितिको निर्णयमा महानगर अध्यक्षसहितको समूहले असन्तुष्टी जनाएपछि लोसपामा विवाद उत्कर्षमा पुगेको थियो ।

    सोही विवादको कारण संगठन तथा पार्टी परित्याग  गर्ने क्रम शुरु भएको छ । यसैक्रममा लोसपा वीरगञ्ज महानगर समितिका उपाध्यक्ष दीपक साह कानुले सोमबार बिहान जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । लोसपमा चुलिएको आन्तरिक विवादका कारण पार्टीको अब भविष्य नरहने अनुमानमा परित्याग गरेर जसपामा प्रवेश गरेको कानु बताउँछन् ।

    यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का लोसपा वडा इकाई कमिटीका अध्यक्ष बनारसी साहले पनि लोसपा परित्याग गरेका छन् । लोसपा परित्याग गरेर जसपामा प्रवेश गरेका साहले आफुसँगै वडा इकाई कमिटीका अन्य पदाधिकारी तथा सदस्यहरुलाईसमेत जसपामा प्रवेश गराएका छन् ।

    जसपा वडा इकाई कमिटीका अध्यक्ष जोगिन्द्र साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिँह, वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार सुशिल कुमार कानुलगायतका नेताहरुले नवप्रवेशीहरुलाई सही निर्णय गरेको भन्दै बधाई तथा शुभकामना दिएका थिए ।

    फुलमाला लगाएर पार्टीमा स्वागत गर्दै आगामी दिनमा आवश्यक्ताअनुसारको जिम्मेवारी दिने आश्वासन पनि उनीहरुले पाएका छन् ।

    उनीहरुको प्रवेशले लोसपालाई ठूलो क्षति भएकै छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर वीरगञ्जमा लोसपासँग तालमेल गरेको एमालेलाई पनि ठूलो घाटा हुने अनुमान सहजै लगाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs