गठबन्धनको निर्णयविपरीत दर्ता भएका बागी उम्मेदवारी फिर्ता गर्न ५ दलको निर्देशन

  • कालिका खवर
  • बुधबार, बैशाख १४, २०७९
  • काठमाडौं – स्थानीय तहको निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका बागी उम्मेदवारी फिर्ता लिनेमा सत्तारुढ गठबन्धनका ५ दलका शीर्ष नेताहरु सहमत भएका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो ।

    बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ ।

    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँग तालमेल नगर्ने र गरेको भए अबिलम्ब खारेज गर्ने सहमति पनि भएको छ ।

    शीर्ष नेताहरुले सिट बाँडफाँटमा सहमति हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडामा तालमेलका लागि बुधबार नै पहल गर्न स्थानीय तहका संयन्त्रलाई निर्देशन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs