पछिल्लोपटक दलको नीतिप्रति असहमति जनाउँदै सत्तारुढ दलहरुबाट पार्टी त्याग गर्नेहरुको संख्या बढिरहेको छ। सत्तारुढ दलले कार्यकर्ताको भावनालाई कदर गर्न नसकेको जनाउँदै कांग्रेस, माओवादी, समाजवादीलगायतका दल छाड्नेहरु बढिरहेका छन्।
पछिल्लो समय नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरीबाट दुई दर्जन जनाले कांग्रेस परित्याग गरेका छन्। उनीहरुले प्रमुख प्रतिपक्षि दल नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेस नुवाकोटको नेतृ, महाधिवेशन प्रतिनिधि प्रत्यासी, पूर्व जिल्ला कार्य समिति सदस्य उमा थापा र नेपाली कांग्रेसका युवा नेता तथा शिवपुरी गापा ३ बाट निर्वाचित वडाध्यक्ष रामहरी थापालगायतका दुई दर्जन एमालेमा प्रवेश गरेको एमाले नुवाकोटले जनाएको छ।
शिवपुरीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेकाहरुलाई नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेश सरकारका पूर्वराज्यमन्त्री बद्री मैनालीले स्वागत गरे। जनताको पक्षमा काम गर्ने दललाई ढिलोचाँढो जनताले सम्मान र साथ दिने अध्यक्ष मैनालीको भनाइ छ।
नेकपा एमालेको पछिल्लो नीतिप्रति सहमति जनाउँदै नुवाकोटका १२ वटै स्थानीय तहवाट कांग्रेस, माओवादी, समाजवादी, राप्रपा तथा जनता समाजवादी छाडेर एमाले प्रवेश गर्ने बढी रहेको एमाले नुवाकोटले जनाएको छ। एमाले सचिवालय सदस्य दीपक कार्कीका अनुसार ६ महिनाको अवधिमा विभिन्न दलका पदाधिकारी, सक्रिय सदस्य, अगुवा कार्यकर्ता तथा उम्मेदवारहरुसमेत गरी चारहजार जना नेकपा एमालेमा प्रवेश गरिसकेका छन्।