कांग्रेसको सरकार बनेमा ६५ वर्ष पुगेपछि भत्ता दिन्छ : प्रधानमन्त्री देउवा

  • कालिका खवर
  • बुधबार, बैशाख २१, २०७९
  • माेरङ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको सरकार बनेपछि ६५ वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने बताउनुभएको छ ।

    नेपाली कांग्रेस मोरङले आज बुधवार विराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले विशेष सुविधा दिने गरेअनुसार नै भत्ता दिने बताउनुभयो । ‘हामीले यसअघि नै ६५ वर्षमाथिकालाई भत्ता दिने निर्णय गरेका थियौँ, एमाले अध्यक्ष ओलीले मान्दै मान्नुभएन’, देउवाले भन्नुभयो ।

    आमसभामा देउवाले सुकुम्वासीलाई जग्गा दिन थालेको, विकास निर्माणले गति लिएको, सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिएको लगायतका काम सरकारले गरेको बताउनुभयो ।

    यस्तै उहाँले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएकाले कसैले कसैलाई धोका दिन नहुने बताउनुभयो । केपी शर्मा ओलीको प्रतिगमनलाई पाँच दल मिलेर परास्त गरेको र आफू प्रधानमन्त्री भएको भन्दै देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको जिकिर गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो। शङ्का उपशङ्का पैदा गर्ने काम गर्नु हुँदैन। नेपाली कांग्रेसले धोका खाएको हो, अरूलाई धोका दिँदैन भन्ने कुरा सबै साथीले बुझ्नुस् । यस्तो मौका गुमाउनु हुँदैन। उचाल्ने पछार्ने मानिस धेरै छन्। गठबन्धन अहिलेको आवश्यकता हो। धोका दिने काम नेपाली कांग्रेसबाट कहिल्यै हुँदैन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs