काँग्रेसीगढ वीरगञ्ज १० मा जसपा स्थापित, सुशील बने वडा अध्यक्ष

  • कालिका खवर
  • आइतवार, जेष्ठ ८, २०७९
  • वीरगञ्ज, ८ जेठ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसलाई उखेलेर जनता समाजवादी पार्टी नेपालबाट सुशील कुमार कानु वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

    नेपाली कांग्रेसका दिग्गज नेता तथा निवर्तमान वडा अध्यक्ष राम नगिना प्रसाद कानुलाई पराजित गर्दै ३३ वर्षीय सुशील आफ्नो पूरै प्यानलसहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    सुशीलले वडा अध्यक्ष राम नगिनालाई ४ सय ७३ मतको अन्तरले पराजित गर्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालय वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
    आइतबार बिहान सम्पन्न वडा नम्बर १० को मतगणनाको अन्तिम परिणामअनुसार जसपाका सुशीलले १ हजार ५ सय ९६ मत पाउँदा काँग्रेसका राम नगिना १ हजार १ सय २३ मत मै सिमित भएका छन् । त्यस्तै नेकपा एमालेका अजय गुत्पा ८ सय १९ मत पाउँदै तेस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार प्रकाश खेतान २ सय ३० मत ल्याउँदै चौथो भएका छन् ।

    वीरगञ्ज महानगरपालीकाको निवर्तमान कार्यपालिका सदस्यसमेत रहेका सुशील आफ्नो सामाजिक र मानवीय कामका कारण युवाहरु माझ निकै लोकप्रिय छन् । महानगरको दोस्रो ठूलो वडामा सुशीलले कांग्रेसलाई एतिहासिक मतले पराजित गर्नुमा उनको सामाजिक योगदान र युवाहरु बीचको पकडले ठूलो भूमिका निर्वाह गरेको विश्लेषण भइरहेको छ ।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर १० नेपाली कांग्रेसबाट मधेश प्रदेशका लागि जलस्रोत तथा उर्जामन्त्री ओमप्रकाश शर्माको पनि गृहवडा हो ।

    यसअघिका निर्वाचित जनप्रतिनिधिले राम्ररी काम गर्न नसक्दा आफूहरुले सुशीललाई विकल्पको रुपमा रोजेको  वडावासीले बताए ।

    अघिल्लो निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट लडेका सुशील कांग्रेसका राम नगिनासँग झिनो मतको अन्तरले पराजित भएपनि पार्टीले उनिमाथि विश्वास गरेर महानगरपालिकाको कार्यपालिका सदस्य बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs