चीनबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि २८ वर्षका दीपेन्द्र सुनारी मगर, जन्म गाउँ नवलपुरको बुलिङ्टार फर्किए ।
डोजरले जताततै पहाड भत्काउनुबाहेक गाउँको जीवनस्तरमा ठोस परिवर्तन थिएन । उनी गाउँघर चहारे । कोरोना महामारीको समयभरि गाउँमै बसे । त्यसबेला उनले सरकार र जनता बीचको सम्बन्धमा ठूलो खाडल देखे । गाउँमा पानीको अभाव, बिजुलीको समस्या, युवाको विदेश पलायन, आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था, आयआर्जनमा समस्या यी यावत कुराहरू देखेपछि दीपेन्द्रलाई छट्पटी भयो । उनलाई गाउँलेका निर्दोष मनहरुले प्रश्न सोधेको अनभूति हुन्थ्यो, ‘के तिमी हाम्रो जुनी बदल्ने कुनै काम गर्न सक्छौं ? उनी भावुक हुन्थे । कुनै प्रोजेक्ट वा योजना वा कार्यक्रमबाट मात्रै जनताको खुसी ल्याउन नसक्ने निष्कर्षमा पुगेका दीपेन्द्र राजनीतिमा होमिने सोचमा पुगे ।यस पृष्ठभूमिमा दीपेन्द्र गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने तयारीमा लागे । हार निरन्तरताको अर्को ताज थप्न हत्तपत्त उम्मेदवार बन्न नेताहरू समेत हिच्किचाउँछन् यहाँ । पार्टीको बैठकमा आफू गाउँपालिकाको अध्यक्ष उम्मेदवार बन्ने आकांक्षा मात्रै राखेनन् दीपेन्द्रले गाउँको अहिलेको अवस्था र आफ्ना योजना पनि सुनाए । उनी गाउँका विषयम धेरै सूचना, जानकारी र तथ्यांक बोकेर हिँडेका थिए ।