पदबहाली गरेलगत्तै चुनावी प्रतिबद्धता अनुसार काम गर्न थालिन् सुनिता

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १७, २०७९
  • काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरेलगत्तै आफ्नो चुनावी प्रतिबद्धताअनुसार काम गर्न थालेकी छन्। हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग गर्न महानगरका सबै वडामा महिला सेल गठन गर्ने बताएकी हुन्।

    सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक काम गर्नेछ। उनको चुनावी प्रतिबद्धता पत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ। उनले भनिन्, ‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो।’

    उनले पदबहालीपछि मेलमिलापकर्तालाई आह्वान गर्न मेलमिलापको सूची अद्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा हस्ताक्षर गरिन्। उनले मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी साना–तिना विवाद वडा तहबाटै निरुपण गर्न मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने बताइन्।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा उल्लेखित विवादहरुको निरुपण गर्दा न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दिइ गर्नुपर्ने मेलमिलाप गराउँदा उक्त ऐनको दफा ४९ को उपदफा ३ बमोजिम न्यायिक समितीले सूचिकृत गरेका मेलमिलापकर्ताबाट गराउनु पर्ने कानुनी व्यवस्था रहेकाले प्रक्रिया अनुसार अघि बढ्ने पनि डंगोलले बताइन् ।

    सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गर्दै महानगरपालिकामा आफूहरु अघि बढ्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs