वृद्धभत्ता ‍हाम्राे ब्राण्ड हाे, जति वर्षमा दिए पनि स्याबासी एमालेले नै पाउँछ : सुरेन्द्र पाण्डे

  • कालिका खवर
  • बुधबार, जेष्ठ १८, २०७९
  • काठमाण्डाै – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का सांसद सुरेन्द्र प्रसाद पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाे बताउनु भएकाे छ ।

    प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाले जसले जति वर्षमा झारेर दिए पनि केही फरक नपर्ने बताउनु भएकाे हाे । सांसद पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिए पनि एमालेले स्याबासी पाउने बताउनुभयो । साथै उहाँले वृद्धभत्ता ५ हजार रुपैयाँ पुुर्याएको भए पनि राम्रो हुने तर्क गर्नुभयो ।

    उहाँले भन्नुभयो – ‘वृद्धभत्ता जतिसुकै कुरा गरे पनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ । तपाईँ ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन । वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास् गर्छन् । ताली ठोक्छन् ।’

    उहाँले नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी गर्नुभयो । गठबन्धनलाई सँगै जान गाह्रो भइराखेको उल्लेख गर्दै उहाँले चुनाव भएदेखि गठबन्धनका दलहरु सबै छुट्टिने थिए भन्ने कांग्रेसले चाहेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – ‘गठबन्धन सँगसँगै जानलाई गाह्रो भएको छ । चुनावपछि यी सबै कसले हात समातेका छन् । कसले खुट्टा समातेका छन् । ती सबै त्यहाँबाट छुट्टिएर जाने छन् । कांग्रेस एकलौटी शासनको बडो सपनामा बसिरहेको छ । त्यसकै लागि प्रयास गरिरहेको मैले देख्छु ।’

    उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेट कटौती भएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

    कर्मचारीको तलब १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित नभएको बताउनुभएको छ । साथै पाण्डेले महँगीको हिसाबमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुनु ठिकै भए पनि सबै वर्गका कर्मचारीहरुको समान रुपमा तलब वृद्धि हुनु न्यायोचित नभएको बताउनुभएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs