मधेश प्रदेशका खास योजना बजेटमा नसमेटिएको हुँदा सांसद यादवद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

  • कालिका खवर
  • बुधबार, जेष्ठ १८, २०७९
  • वीरगञ्ज, १८ जेठ । सुनको अण्डा दिने शहर वीरगञ्जलाई सरकारले सदियौँदेखि ठग्दै आएको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले बताएका छन् । आर्थिक वर्ष २०७९÷८० को बजेट सम्बन्धी छलफलमा सहभागी हुँदै सांसद यादवले बजेटले संघियतालाई बलियो बनाउने प्रयास गरेपनि सन्तुलन नदेखिएको टिप्पणी गरे । उनले भने, ‘बजेटले खुशी र दुःखी दुवै बनाएको छ । बजेटले संघियतालाई बलियो बनाउने प्रयास गरेकोमा खुशी लागेको छ भने समग्र रुपमा मधेश प्रदेश र सुनको अण्डा दिने शहर वीरगञ्जलाई उपेक्षा गरेकोमा दुःख लागेको छ ।’

    हुलाकी सडक मधेश प्रदेशको लाइफलाईन भएपनि त्यसको लागि थोरै मात्रै बजेट बिनियोजन गरेकोमा सांसद यादवले असन्तुष्टी पोखे । मधेश प्रदेशमा कुनै पनि खास योजना नसमेटिएकोमा पुर्न बिचार गर्न सांसद यादवले अर्थमन्त्री जनार्दन शर्मालाई ध्यानाकर्षण गराएका छन् । मधेश प्रदेशको सरकारलाई दिइने अनुदान घटाइएको पनि सांसद यादवले आपत्ति जनाएका छन् । मालपोत कार्यालयलाई प्रदेश सरकारको मातहतमा राख्नुपर्ने पनि उनको माग छ । उनले भने, “मालपोत कार्यालयले उठाउने रजिष्ट्रेशन शूल्क प्रदेशमा जाने भएपनि संघिय सरकारले टेक अप गरीरहेको छ । त्यसैले मालपोत कार्यालयलाई प्रदेशमातहमा राख्नुपर्छ ।”

    मुलुकका अर्थतन्त्रमा ठूलो टेवा पुग्ने वीरगञ्जलाई उपेक्षा गर्दै आएकोमा आपत्ति जनाउँदै सांसद यादवले भने, “वीरगञ्जबाट सँधै लिने मात्रै काम भएको छ तर दिने केही पनि भएन । बजेट तथा योजना पाउनका लागि राष्ट्रिय नेता नै हुनुपर्ने हो त ?” नारायणी रंगशाला अहिले कोमामा गइसकेको हुँदा पुर्ननिर्माणका लागि बजेट बिनियोजन गर्नुपर्ने माग गर्दै संघले बनाउन नसक्ने भए स्थानीय वा प्रदेश सरकारको जिम्मा दिएमा आफै बनाउने पनि उनले बताएका छन् ।

    नरायणी अस्पतालमा पनि संरचनाको कमी, स्वास्थ्य सामाग्री, उपकरणको अभाव हुनुका साथै ठाकुरराम बहुमुखी क्याम्पसलाई पनि बजेटमा नसमेटिएको उनको भनाई छ । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि अन्य नेताहरु पनि वीरगञ्जमा पुग्दा औद्योगिक नगरी भनेर भाषण गरेपनि औद्योगिक नगरी घोषणा गर्न नसक्नुको दुखद विषय भएको बताए । वीरगञ्जमा थोक कृषि केन्द्र स्थापना गर्नुपर्ने माग गर्दै सांसद यादवले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने योजना बजेटमा समावेश भएकोमा सरकार र नागरिक उड्यन मन्त्रीप्रति धन्यवाद ज्ञापन गरे ।

    यद्यपी सर्वाेच्च अदालतले गरेको निर्णयमा आपत्ति जनाउँदै उक्त निर्णय मधेशमात्रै नभएर सिंगो मुलुकको समृद्धीको बाधक भएको सांसद यादवको ठम्याई छ । बन माफियाका कारण निजगढ बिमानस्थल बनाउन रोग लगाएको हुन सक्ने आशंका पनि उनले व्यक्त गरेका छन् । उनले भने, “सभामुख महोदय निजगढमा बाहिर रुखहरु देखिन्छ, भित्र भित्र खोक्रो पारिएको छ । बन माफियाले रुख मासिन्छ भन्ने बहस चलाएर बनालाई नै रित्तो बनाइरहेका छन् । जंगलको भित्र घरहरु छन्, बिजुली छैन तर चापा कल गाडिएको छ सोलार हालेर दिनदिनै बस्ती बढीरहेको छ ।” सिमरा बिमानस्थल काठमाण्डौदेखि सबैभन्दा छोटो दुरीमा रहेको हुँदा त्यसको रनवे बढाउनुपर्ने सांसद यादवको माग छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs