काठमाण्डाै – नेपाल उद्योग परिसङ्घले भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गर्दै ‘समर टुरिजम क्याम्पेन’ चलाएको छ ।
आज बिहीवार परिसङ्घले काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै भारत र बङ्गलादेशमा रहेका प्रकृतिप्रेमीहरूलाई नेपाल घुमाउन ‘समर टुरिजम क्याम्पेन’ सुरु गरेको हो । गर्मीलाई लक्षित गर्दै परिसङ्घले भारतमा ‘गर्मीसे बेहाल ? चलो नेपाल’ अभियान थालेको हो । उस्तै शब्द बङ्गलादेशमा पनि चलाइने परिसङ्घले जनाएकाे छ ।
परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ पछि भारतीय र बङ्गलादेशीसहित अन्य देशका पर्यटकसमेत बिस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरूलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले अहिले भारत र बङ्गलादेशमा निकै गर्मी रहेको र गर्मी मौसममा उनीहरू बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने विश्वास लिएको बताउनुभयो ।