जिसस पर्साकाे निर्वाचनमा ट्विस्ट एमाले-जसपा विच गठबन्धन, कांग्रेसले एकलै उम्मेदवारी दिए

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २४, २०७९
  • वीरगञ्ज । जिल्ला समन्वय समिति (जिसस) पर्साको निर्वाचनमा सत्तारुढ गठबन्धनका जनता समाजवादी पार्टी (जसपा) नेपालले विपक्षी दल नेकपा एमालेसंग तालमेल गरेकाे छ । मंगलबार भएको जिसस निर्वाचनका लागि जसपा र एमालेले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसले एक्लै उम्मेदवारी दर्ता गराएको छ ।

    वीरगञ्ज महानगरपालिकाकाे मेयर, उप मेयर र कार्यपालिका सदस्यको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको जसपाले जिससकाे निर्वाचनमा एमालेसँग गठबन्धन गरेकाे हाे । जिससकाे प्रमुखसहित ३ सदस्यमा जसपाले मनाेनयन दर्ता गराएकाे छ भने उप प्रमुखसहित ४ सदस्यमा एमालेले मनाेनयन दर्ता गराएकाे छ ।

    महानगरमा कांग्रेस र जसपा मिलेर मेयर उपमेयर तथा बोर्ड सदस्य भागवण्डा लगाएका थिए । तर समन्वय समितिमा भने कांग्रेसले नेतृत्वको दावी गरेपछि जसपा एमालेसँग मिल्दै नेतृत्व हत्याउन पुगेको हो ।

    १४ स्थानीय तहमध्ये १२ प्रमुख, उपप्रमुख कांग्रेसको हुँदा एमालेको १०, जसपाको ५ र लोसपाको १ रहेको छ ।

    बढी मत आफुसँग रहेकाले नेतृत्व आफूले पाउनु पर्ने सत्तागठबन्धनमा कांग्रेसले दावी गरेपछि नेतृत्व जसले दिन्छ उसैसँग जिससको निर्वाचनमा तालमेल गर्ने रणनीति अपनाएर जसपाले छलफल अघि बढाएको थियो ।

    एमाले जसपालाई नेतृत्व सुम्पदै उपप्रमुखमा चित्त बुझाउन राजी भए पछि जिल्ला समन्वय समितिको आउँदो २७ गते हुने निर्वाचनमा एमाले र जसपाबीच तालमेल भएको बुझिएकाे छ ।

    जस अनुसार जिसस प्रमुखका लागि जसपाले वीरगञ्ज १५ बाट वडासदस्यमा निर्वाचित निरन्जन साह सोनार (अजय सर्राफ)लाई उम्मेद्वार बनाएको छ । उपप्रमुखका लागि भने बहुदरमाई नगरपालिकाका पुरन कुर्मीलाई एमालेले अघि सारेको छ ।

    एमालेले उपप्रमुखसहित ४ सदस्य लिएको छ भने जसपाले प्रमुखसहित ३ सदस्य भागमा पाएको छ ।

    यसैबीच नेपाली कांग्रेसले पनि जिसस नेतृत्वका लागि आफ्नो एकल उम्मेद्वारी दिएको छ । कांग्रेसले जिराभवानी गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका सरोज चौरसियालाई प्रमुखको उम्मेदवार बनाएको छ भने वीरगञ्ज वडा नम्बर ९ की सदस्य सोनी पासवानलाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।

    यो निर्वाचनमा जसपा नै निर्णायक रहेकाले एमाले र कांग्रेस जसपालाई हातमा लिन लागि परेका थिए । महानगको मेयर छाडेको र बोर्डमा पनि समान हिस्सा दिएको कांग्रेसले जिससमा भने आफ्नो नेतृत्व ल्याउन चाहेको थियो ।

    तर जसपाले नेतृत्व नछाड्ने अडान लिँदै एमालेसँग तालमेल गर्न पुगेपछि कांग्रेस बहुमत नभए पनि उम्मेद्वारी दर्ता गरेर औपचारिकता निभाउन बाध्य भएको छ ।

    एमाले र जसपाले तालमेल गरेसँगै उनीहरुको मतसंख्या १५ भएको छ । कांग्रेस एक्लैसँग १२ छ । त्यसैले निर्वाचनमा प्रतिनिधिले मत क्रस नगरे जित एमाले जसपा गठबन्धनको हुने देखिन्छ । यसले २०७४ काे निर्वाचनमा जिससमा पुग्न नसकेको कांग्रेस यस वर्ष पनि जिससमा पुग्नबाट बन्चित हुने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs