को हुन् नेपाली कांग्रेसबाट जिससको प्रमुख पदका उम्मेद्वार सरोज चौरसिया?

  • कालिका खवर
  • बुधबार, जेष्ठ २५, २०७९
  • वीरगञ्ज – जिल्ला समन्वय समिति पर्साको प्रमुखमा नेपाली कांग्रेसबाट सरोज चौरसियाले उम्मेद्वारी दिएका छन् । यहि जेष्ठ २७ गते हुन लागेको जिससको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रमुखमा चौरसिया र उप–प्रमुखमा सोनी पासवानको उम्मेदवारी परेको हो । नेविसंघ हुँदै नेपाली कांग्रेसबाट सक्रिय राजनीति गरिरहेका चौरसियाको जिससको सभापतिमा उम्मेद्वारी परेपछि कांग्रेसी युवाहरु उत्साहित छन् । पर्सेली राजनीतिक वृत्तमा चौरसियाको विशेष प्रभाव छ । प्रखर बोली र स्पष्ट विचारका कारण उनी प्रभावशाली युवा नेताका रुपमा समेत परिचित छन् । सहि सुझबुझ र समयसापेक्ष निर्णय क्षमता भएका चौरसिया युवा शक्ति परिचालनमा खप्पिस छन् । सिमित स्रोतका बावजुद पनि वृहत समस्याहरुको समाधान गर्नसक्ने चौरसिया, यहाँका युवाहरुको लागि प्रेरणाका स्रोत हुन् ।

    चौरसिया सक्रिय सामाजिक अभियन्ता हुन् । उनले करिब १५ वर्ष विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध भएर काम गरेका छन् । सामुदाायिक विकासका लागि समुदाय अनुसारकै विकास पद्धती निर्माण गरि कार्यान्वयन गर्नसक्ने चौरसिया यहाँको समुदाय र समुदायको समस्याबारे जानकार छन् । संस्थाहरुमा कार्यरत रहँदा उनको नेतृत्वमा सञ्चालन भएका समुदाय सापेक्ष विकासका कार्यक्रम तथा परियोजनाहरु परिणाममुखी रहे । पर्सा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गराउनुमा उनको विशेष योग्दान छ ।
    उनले संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रम युएन–हैबिट्याटका लागि पर्सा जिल्ला संयोजक भएर ४ वर्ष काम गरे । युएनमा कार्यरत रहँदा साविकको गाविसहरुमा खुल्लामा शौच नगर्न जनचेतना कार्यक्रम सञ्चालनदेखि घर–घरमा शौचालय निर्माणसम्मका कार्यहरु चौरसियाको नेतृत्वमा सम्पन्न भएको हो । खुला दिशामुक्त क्षेत्र घोषणाका लागि नेपाल रेडक्रस सोसाईटीद्वारा सञ्चालित कार्यक्रमको नेतृत्व पनि चौरसियाले नै गरे । तत्कालिन गाविस र जिविसहरुको बिच समन्वय गर्न सहजीकरण र कार्यको मार्गचित्र प्रस्तुत गर्ने काम पनि उनले गरे ।

    जिल्लास्थित प्रहरी–प्रशासन तथा सार्वजनिक निकायहरुसँगको समन्वयमा काम गर्न उनी अभ्यस्त छन् । राष्ट्रसंघ परियोजनामा कार्यरत रहँदा विभिन्न निकायहरुलाई एकमत बनाएर काम गरेको अनुभव उनीसँग छ । काममा गुणस्तर र परिणामलाई प्राथमिकतामा राख्ने चौरसियासँग महिला तथा बालबालिकाको क्षेत्रमा पनि सक्रिय भएर काम गरेको अनुभव छ । राष्ट्रसंघकै अकों अंग युएनडिपीमा कार्यरत रहँदा उनले दाइजो प्रथा, बाल विवाह, बालश्रम, घरेलु हिंसा, लिंगमा आधारित हिंसा, महिला हिंसाका विरुद्ध चर्को विरोघ गरेकै हुन् । जिल्लामा हिंसाका घटनाहरुमा कमी आउनु, उनको नेतृत्वमा सञ्चालित परियोजना तथा कार्यक्रमहरुको पनि परिणाम हो । सामाजिक सुरक्षा तथा युवा–प्रहरी साझेदारीका विषयहरुमा पनि उनको दखल छ । सन् २०१६ मा युवा र प्रहरीको साझेदारी नभएसम्म सामाजिक सुरक्षाको प्रत्याभुत हुन नसक्ने भन्दै उनले विभिन्न कार्यक्रमहरु सञ्चालन गरे ।

    उनले मानवअधिकार र शान्ति निर्माणको क्षेत्रमा पनि काम गरेका छन् । समुदायमा बसोबास गरिरहेकाहरुबाट कहिकतैं मानवअधिकारको उल्लंघन नहोस् भन्ने विषयमा सदैव सचेत रहने प्रवृत्तिका व्यक्ति हुन्, उनी । हिमालय ह्युमन राईट्स् मोनिटर्स् (हिमराईट्स्ं)मा कार्यरत रहँदा उनले जिल्लामा हुने हिंसाका घटनाहरुको पिडितलाई न्याय दिलाउन र पिडकलाई कारवाहीको दायरा भित्र ल्याउन तल्लिन रहे । न्याय सम्पादनको क्रममा कहिकतैं सरोकारवाला निकायबाट ढिलासुस्ती नहुन दिन निरन्तर खटिरह्ने व्यक्ति हुन्, उनी । साथै समुदायमा उत्पन्न भएका विवादलाई साम्य पार्न समयसान्दर्भिक उपाय अवलम्बन गर्दै शान्ति निर्माणमा उनले टेवा पुर्याए ।

    सन् २०१३ मा वैदेशिक रोजगारमा गएका थुप्रै सर्वसाधारणहरु विदेशमा अलपत्र परे । म्यानपावरको भर परेर विदेश गएका, वैदेशिक भाषा र कम्पनी बारे यथेष्ट जानकारी नभएकाहरु अलपत्र पर्ने क्रम बढ्दै गयो । त्यस बखत हिमराईट्स् द्वारा सञ्चालन भएको सेफ माईग्रेसन परियोजनामा काउन्सेलर भएर उनले काम गरे । जस अन्तर्गत उनले पर्सा जिल्लाबाट विदेश जाने योजनामा रहेकाहरुलाई मार्गनिर्देशन गर्ने काम गरे । सन् २०१५ मा नेपाल रेडक्रस सोसाईटीको प्रतिनिधीत्व गदैै युरोपको फिनल्यान्डबाट उनी प्रशिक्षित छन् ।
    सन् २०१५ मा ठाकुरराम बहुमुखी क्याम्पसबाट ग्रामीण विकासमा स्नातक गरेका चौरसियाले सन् २०१८ मा समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् ।

    पर्साको जीराभवानी गाउँपालिका सेढवा निवासी चौरसिया हाल गाउँपालिकाको कार्यपालिका सदस्य पनि हुन् । चौरसियाको अनुभवका कारण उनी जिल्लाको समन्वयकर्ताको भूमिका निर्वाह गर्न सक्षम् रहेको चर्चा छ । सेवा प्रवाह तथा विकास निर्माणका सवालमा कुनै सम्झौता नगर्ने उनले जिल्लास्थित पालिकाहरूका बीचमा आवश्यक पर्ने समन्वयका लागि आफूलाई जिससको प्रमुखमा निर्वाचित गराउन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs