याे कांग्रेसको एकलौटी सरकार हाेइन, चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था छैन : देउवा

  • कालिका खवर
  • आइतवार, जेष्ठ २९, २०७९
  • प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ ।

    कांग्रेसको एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दाबी गर्न नमिल्ने पनि बताउनुभयो । आज आइतवारदेखि काठमाण्डाैमा सुरु भएकाे नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले भन्नुभयाे, ‘याे कांग्रेसकाे एकलाैटी सरकार हाेइन भन्ने कुरा तपाईँहरूले बुझ्नुपर्‍याे । तपाईँहरूले धेरै माग दाबी गर्ने कुरा छैन । अरू कतिपय तपाईँहरूले अति महत्त्वपूर्ण कुराहरू उठाउनुभएको छ । कतिपय बजेटमा आएका छन् । छैनन भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौँ ।

    प्रधानमन्त्री देउवाले श्रमिकहरूको हक, अधिकारको सुरक्षा र उनीहरूका लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ सङ्कल्पित रहेको बताउनुभयो । नेपालको संविधान र कानुनले श्रमिकहरूको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्णरूपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिबद्ध रहेको उहाँकाे भनाइ छ ।

    पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा श्रमिकहरूको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs