वडाका पदाधिकारीको बैठक भत्तामा १ करोड ३८ लाख

  • कालिका खवर
  • बिहिबार, असार २, २०७९
  • काठमाण्डौ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि वडाहरूलाई बजेटको सिलिङ पठाएको छ ।

    महानगरपालिकाले ३२ वटा वडालाई ठूला, मझौला र साना वडामा वर्गीकरण गरेर बजेटको सिलिङ पठाएको हो । वडा कार्यालयबाट कार्यान्वयन हुने प्रशासनिक,सामाजिक र पूर्वाधार खर्चतर्फ निर्धारण गरिएको सीमाभित्र रहेर सात दिनभित्र सिलिङ पठाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले परिपत्र गर्नुभएको छ ।

    ३२ वटै वडाले गरेर आउँदो वर्षका लागि दुई अर्ब ७१ करोड ५३ लाख रुपैयाँसम्मको बजेट माग गर्न सक्नेछन् । प्रशासनिकतर्फ ठूला, मझौला र साना वडा कार्यालयहरूले १३ लाख पाँच हजार रुपैयाँका दरले पाउनेछन् । यस्तै सामाजिक विकास, खेलकुद र अन्य कार्यक्रमका लागि ठूला वडाले २७ लाख, मझौला वडाले २१ लाख ५० हजार र साना वडाले १६ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै पूर्वाधार विकासतर्फ ठूला वडाले १० करोडसम्म, मझौलाले सात करोड ५० लाखसम्म र साना वडाले पाँच करोड रुपैयाँसम्मको बजेट माग गर्न सक्नेछन् । समग्रमा ठूला वडाले १० करोड ४० लाख, मझौलाले सात करोड ८४ लाख र साना वडाले पाँच करोड २९ लाख रुपैयाँसम्म पाउनेछन् ।

    महानगरले बजेटको सिलिङ बनाउँदा पदाधिकारी बैठक भत्ताका लागि चार लाख ३२ हजार रुपैयाँ भित्रै रहने गरी बनाउन भनेको छ । यसरी ३२ वटा वडाले पदाधिकारीको बैठक भत्तामा एक करोड ३८ लाख २४ हजार रुपैयाँसम्म बजेट खर्च गर्न पाउनेछन् । यस्तै पानी बिजुलीका लागि ६४ लाख, सञ्चार महसुलका लागि १५ लाख ३६ हजार, मसलन्द तथा कार्यालय सामग्रीमा ८८ लाख, पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन खर्चमा ३२ लाख र विविध खर्चमा ८० लाख रुपैयाँसम्म बजेट माग गरेर खर्च गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs