पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।
अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहिं थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् । शुक्रबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी नेता नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुने भन्दै ती कुराको ख्याल गर्नुपर्ने बताए । ‘कूटनीतिका धेरै पक्षहरु हुन्छन् । कहिले दबाव दिएर, कहिले फकाएर, थाहै नदिइकन, निदाएको बेलामा, ह्वीस्की खुवाएर’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘यो सबै हुने भएको हुनाले ह्वीस्की खाएर नशाको बेलामा सही गरिएला ख्याल गर्नुहोला ।’