प्रचण्डले झुट बाेलिरहेका छन्, एसपीपी हामीले अस्वीकार गरेका थियाैँ : केपी ओली

  • कालिका खवर
  • शुक्रबार, असार ३, २०७९
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदैसम्मकाे झुट र बेइमानी कुरा गरेको बताउनुभएको छ ।

    अध्यक्ष ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल नेतृत्वको सरकारले अघि बढाएको त्याे कार्यक्रम आफू नेतृत्वको सरकारले अस्वीकार गरेको तथ्यलाई बिर्सेर दाहालले झुट र बेइमानीपूर्ण गरेको स्पष्टीकरण दिनुभएको हो ।

    पार्टीबाट निर्वाचित पालिकाका जनप्रतिनिधिका लागि काठमाण्डाैमा आयाेजित प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले २०७४ साल वैशाख २४ गते दाहाल प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति क्षेत्रीले त्याे कार्यक्रममा हामीलाई सहभागी गराउन पर्‍याे भनेर अमेरिकी सेनाको प्यासेफिक कमान्डलाई पत्राचार गरेको तथ्य नबिर्सन पनि सचेत गराउनुभयो ।

    उहाँले भन्नुभयो, ‘केपी ओलीको पालामा नै एसपीपी आएकाे थियाे भनेर भ्रम चलाइरहेका छन् । २०७२ असोज ३ गते संविधान जारी भयो । ६ गते प्रधानमन्त्री, रक्षा मन्त्री एकैजना हुनुहुन्थ्याे सुशील कोइरालाजी । उहाँले रक्षा मन्त्रीको हैसिसतले एसपीपीमा नेपाल पनि पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्दै निर्णय गर्नुभएको रहेछ । त्यो निर्णय असोज १३ गते सैनिक हेडक्वार्टरमा पठाइएको रहेछ । ६ गते उहाँले मन्त्रीस्तरीय निर्णय गर्नुभयो, १३ गते सैनिक हेडक्वार्टरमा पठाउनुभयो । यो कुरा हामीलाई कतै पनि बताइएन । २४ गते म संसदबाट निर्वाचित भए । २५ गते मैले शपथ ग्रहण गरेँ । तर १० गते त्यति बेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पत्र लेख्नुभएकाे रहेछ । साधारणतया प्रधानसेनापतिले त्यसरी पत्र लेख्दैन । रक्षा मन्त्रालयको काम हो त्यो । यो कुरा गुपचुपमै राखियो । पछि प्रचण्डजी प्रधानमन्त्री भएको बेला वैशाख २४ गते राजेन्द्र क्षेत्रीले नै प्रधानसेनापतिको हैसियतमा अमेरिकी सेनाको प्यासेफिक कमान्डलाई पत्र लेख्नुभएको रहेछ । १ जुन २०१९ मा हाम्रो सरकार भएको बेला इन्डोप्यासेफिक भन्ने कुरा ट्रम्पले ल्याए । त्यसभित्रकाे एउटा पानामा प्यासेफिक स्ट्राटिजीमा पछिल्लो पटक नेपाल र श्रीलङ्का पनि संलग्न भएका छन् भन्ने उनीहरूले उल्लेख गरे । त्यो उल्लेख गरेपछि हामीले त्यसलाई हेरेर यो कहाँबाट भयो ? हामी भएका छैनौँ भन्याैँ । उसको पार्टनरशिपमा हामी गएका छैनौँ र जाने कुरा पनि आउँदैन । अहिले प्रचण्ड चाहिँ याे केपी ओलीकाे पालामा अघि बढेकाे हाे भनेर झुट बाेलिरहेका छन् । झुट, बेइमानीको पनि हद हुन्छ नि । केपी ओलीको नेतृत्वमा त अस्वीकार गर्ने काम भयो । यस्ता भ्रममा पछि नपरौँ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs