इम्बाेस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा किन ? यसाे भन्छ मन्त्रालय

  • कालिका खवर
  • बुधबार, असार ८, २०७९
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले दक्षिण एसियाका चार देशबीच भएको बीबीआईएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग गर्नुपरेको बताउनुभएको छ ।

    संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आज बुधवारको बैठकमा बोल्दै सचिव सिग्देलले भुटान, बङ्गलादेश, भारत र नेपालका बीचमा भएको बीबीआईएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग गर्नुपरेको बताउनुभएको हो । उहाँले दक्षिण एसियामा ‘सिमलेस ट्रान्सपोर्ट’ गर्ने सम्झौता भएको र त्यसो गर्दा अङ्ग्रेजी भाषाका अङ्कहरू सबै देशका संयन्त्रले पढ्न सक्ने हुनाले इम्बाेस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा राखिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘नेपालसहित दक्षिण एसियाका चार देशबीच बीबीआईएन सम्झौता भएको छ । त्यो सम्झौताले हाम्रो नेपाली प्लेटमा पनि अङ्ग्रेजी अङ्क हुँदा सबै देशमा सहजै पढ्न सक्ने र त्यहाँको संयन्त्रले पनि पढ्न सक्छन् । नेपाली भाषा रिड गर्ने सजिलै सफ्टवेयरहरू उपलब्ध नहुनेकाे कारण पनि हो ।’

    उहाँले इम्बोस्ड नम्बर प्लेट बनाउन २०७३ सालमा सम्झौता गरिएको र सम्झौता गर्दा सम्बन्धित कम्पनी कालोसूचीमा नपरेको बताउनुभयो । सम्झौतापछि कालोसूचीमै परे पनि तत्काल ठेक्का सम्झौता रद्द नहुने कानुनी व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।

    यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले इम्बोस्ड नम्बर प्लेट बनाउनका लागि सरकारको पैसा खर्च नहुने बताउनुभयो । उहाँले सम्झौताअनुसार २५ लाख गाडीमा प्रति गाडी दुई हजार पाँच सयदेखि तीन हजार हजार ६ सय रुपैयाँसम्ममा इम्बोस्ड नम्बर प्लेट बनाइने बताउनुभयो । त्यसबापत झन्डै सात अर्ब ३९ करोड रुपैयाँ पैसा उठे पनि कम्पनीले झन्डै चार अर्ब ६८ करोड रुपैयाँ लिने र झन्डै दुई अर्ब ४० करोड रुपैयाँ सरकारको राजस्वमा जाने उहाँले जानकारी दिनुभयो ।

    महानिर्देशक घिमिरेले विश्वमा ९५ प्रतिशत देशमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको बताउनुभयो । उहाँले दक्षिण एसियामा नेपालमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान नभएको उल्लेख गर्दै इम्बोस्ड नम्बर प्लेट जडान गर्नु आवश्यक रहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs