देउवाले पार्टीकाे नेतृत्व गर्न सक्नु भएन : नेता भण्डारी

  • कालिका खवर
  • बिहिबार, असार १६, २०७९
  • नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको छ ।

    आज बिहीवार पार्टीका नेता शेखर कोइराला पक्षधरको भेलामा सहभागी हुन पुग्नुभएका नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको हो । उहाँले सभापति देउवाले पार्टी विधानअनुसार काम गर्न नसकेको बताउनुभयो । अन्य पार्टीले मन्त्रिपरिषद् हेरफेर गरे पनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्नसमेत नसकेको उहाँले आरोप लगाउनुभयो । उहाँले देउवा सत्तामा जाने राजनीतिका लागि सफल व्यक्ति भएको बताउनुभयो ।

    सभापति देउवाले गुटको प्रतिनिधित्व नगरि सिङ्गो पार्टीको प्रतिनिधित्व गर्नुपर्ने नेता भण्डारीकाे भनाइ छ । उहाँले नेता शेखर कोइराला पक्षीय नेताहरूको भेला गुटको नभइ विचारको भेला भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘सभापतिले गुटको प्रतिनिधित्व नगरेर सिङ्गो पार्टीको प्रतिनिधित्व गर्दै देशको प्रतिनिधित्व गर्नुस् भन्ने हाम्रो दृष्टिकोण हो । तर उहाँले केन्द्रीय समिति बनाउनुभएको छ, उहाँले भातृ संस्थाहरू बनाउनुभएकाे छ तर एकपक्षीय छ । नेविसङ्घ गठन गर्न सुशील कोइरालाले आफ्नो व्यक्ति राख्यो भनेर नौ महिनासम्म केन्द्रीय समितिको बैठक गर्न नदिएको कुरा पनि उहाँले सम्झिनुपर्छ ।’

    नेपाली कांग्रेसका नेता कोइराला पक्षीय नेताहरूको भेला बत्तीसपुतलीमा रहेकाे एक फुडल्यान्डमा चलिरहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs