गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : धनराज गुरुङ

  • कालिका खवर
  • मङ्लबार, असार २१, २०७९
  • नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गर्नुभएको छ ।

    आज मङ्गलवार काठमाण्डाैमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनरूपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताउनुभयो ।

    आउँदाे मङ्सिरपछि मात्रै सम्भवतः गठबन्धनरूपी विमानले सुरक्षित अवतरण गर्ने उहाँकाे भनाइ छ । उहाँले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरूले एकअर्काप्रति आरोप, प्रत्यारोप गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पालिका चुनावमा हामी पाँच दल एउटै जहाज चढ्यौँ । जहाज उडिसकेको छ । आकाशमा छ । तर ल्यान्डिङ भएको छैन । अब हामीले त्यो जहाजलाई सेफ ल्यान्डिङ कसरी गर्ने ? भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । जहाजलाई सेफ ल्यान्डिङ गर्नुपर्ने हाम्रो दायित्व छ । वा त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर खुट्टा भाँचिन्छ कि भन्ने पनि हामीलाई त्रास छ ।’

    उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेकाे पुष्टि हुने दाबी गर्नुभयो । उहाँले सधैँ देश गरिब बनाएर काम गर्न नहुने भन्दै सरकार चलाउनेले देश र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs