
श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमण गरेका छन् । देशको आर्थिक संकट समाधान र राष्ट्रपतिको राजीनामा माग गरेर हजारौँ प्रदर्शनकारीले आज कोलम्बोका सडक कब्जा गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
आजको प्रदर्शन आर्थिक संकट सुरु भएयताकै ठूलो भएको खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरीका अवरोध हटाउँदै राष्ट्रपति राजापाक्षेको निवास वरपर पुगेर ढुंगा तथा इँटा प्रहार गरेका छन् । प्रहरीले सयौँ राउण्ड अश्रुग्यास र हवाई फायर गरेको छ । उनीहरुले राष्ट्रपतिले पारिवारिक व्यक्तिलाई मात्रै मूख्य पदमा नियुक्ति गरेको र आफ्नो स्वार्थको लागि देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् ।
पेट्रोल र डिजलको चरम अभावका बीच पनि देशका विभिन्न ठाउँबाट ट्रक र बस चढेर हजारौँ प्रदर्शनकारी राजधानी कोलम्बो पुगेका छन् । २ करोड २० लाख जनसंख्या भएको श्रीलंका आर्थिक रुपमा टाटा पल्टिएको छ । औषधि, इन्धन, खाद्यान्न लगायतका वस्तुको चरम अभाव भएको छ । नागरिक भोकमरीमा पुगेका छन्, विद्यालयहरु बन्द हुने क्रम बढेको छ ।