माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति राजापाक्षे सिङ्गापुर जाने तयारीमा

  • कालिका खवर
  • बिहिबार, असार ३०, २०७९
  • प्रदर्शन चर्किएपछि माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे त्यहाँबाट सिङ्गापुर जाने तयारीमा हुनुहुन्छ ।

    प्रदर्शनकारीले राष्ट्रपति कार्यालय नै कब्जा गरेपछि उहाँ हिजो माल्दिभ्स पुग्नुभएको थियो । राजापाक्षेसँगै उहाँकी श्रीमती र दुई अङ्गरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् ।

    राजापाक्षे देशबाट भागेपछि राजनीतिक सङ्कट थप गहिरिएको छ । तत्काल सङ्कट टर्ने सङ्केत देखिएको छैन । श्रीलङ्कामा अहिले आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । श्रीलङ्काको सेना र पुलिस प्रशासनले संसद्का सभामुखलाई सर्वदलीय बैठक बोलाउन र राजनीतिक समाधान सुनिश्चित गर्न चाल्ने कदमबारे तत्काल जानकारी दिन आग्रह गरेको छ ।

    राजनीतिक उथलपुथल र प्रदर्शनका कारण श्रीलङ्कामा देशव्यापी कर्फ्यु लगाइएको छ । प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सरकार र प्रतिपक्ष दुवैलाई स्वीकार्य प्रधानमन्त्री मनोनयन गर्न संसद्का सभामुखलाई आग्रह समेत गर्नुभएको छ ।

    सयौँ प्रदर्शनकारीले कोलम्बोमा रहेको प्रधानमन्त्रीको कार्यालयमा पनि कब्जा गरेका छन् । उनीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् । प्रधानमन्त्री विक्रमासिङ्घेले उग्र प्रदर्शनकारीलाई पक्राउ गर्न ठाडो आदेश दिनुभएको त्यहाँको पत्रिका डेली मिररले जनाएको छ ।

    श्रीलङ्काको विपक्षी दलका नेता सजिथ प्रेमादासले प्रधानमन्त्री विक्रमासिङ्घेले राष्ट्रपतिको अधिकार प्रयोग गर्न नपाउने दाबी गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs