श्रीलङ्काले आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनसँग ४ अर्ब डलर सहयोग माग्ने

  • कालिका खवर
  • शनिबार, असार ३२, २०७९
  • श्रीलङ्काले वित्तीय तथा आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनसँग ४ अर्ब डलर सहयोग माग्ने तयारी गरेको छ ।

    बेइजिङमा रहेका श्रीलङ्काली राजदूत पलिथा कोहोनाले यो सहयोगका लागि चीनले सहमति जनाउनेमा आफू विश्वस्त भएको बताउनुभएको छ ।

    श्रीलङ्काले चीनसहित जापान, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा व्यावसायिक कर्जादाताहरूसँग पनि मद्दत मागेको बीबीसीले जनाएको छ । तर श्रीलङ्काको बाह्य ऋणमध्ये झन्डै १० प्रतिशत वा ५ अर्ब डलर चिनियाँ ऋण नै रहेको छ । आर्थिक सङ्कटकै कारण त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन सकेको छैन । महँगी चुलिएको छ ।

    खानेकुरा, औषधि र इन्धनको अभाव कामयै छ । त्यहाँ महिनौदेखि भैरहेको प्रदर्शनका कारण देश छाडेका राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिनुभएको छ । गोटाबायले सिङ्गापुर पुगेर पठाएको राजीनामापत्र हिजो स्वीकृत भएको छ ।

    प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा शपथ लिनुभएको छ । अदालतले श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजापाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । हिजो सर्वोच्च अदालतले आउँदो जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश दिएको हो ।

    अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्ड काब्राल र अरु केही व्यक्तिलाई पनि देश छाडेर जान रोक लगाएको छ । ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक सङ्कट उत्पन्न हुनुमा जिम्मेवार रहेकोलगायतका आरोप छ । उनीहरुमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs