लयमा फर्कियो वैदेशिक रोजगारी : एक वर्षमा ६ लाख २८ हजार विदेश गए

  • कालिका खवर
  • शनिबार, असार ३२, २०७९
  • कोरोना सङ्क्रमणपछि केही घटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको छ । चालु आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

    कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिएको सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार ८ सय ५ ले धेरै हो ।

    गएकाे दुई वर्ष कोरोनाका कारण नेपाल र श्रमगन्तव्य देश प्रभावित भएर रोकिएको वैदेशिक रोजगारी यो वर्ष तीन दशमलव ७४ गुणाले बढेको देखिएको छ । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या सबैभन्दा बढी मङ्सिर महिनामा रहेको छ ।

    मङ्सिर महिनामा ७४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम साउनमा २५ हजार ४ सय ६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै पुसमा झन्डै साढे ६६ हजारले श्रम स्वीकृति लिए भने जेठ र असारमा क्रमशः साढे ६२ हजार र ६० हजारले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

    यो वर्ष नेपालीका प्रमुख श्रमगन्तव्य देश साउदी अरब र कतार बनेका छन् । साउदी अरबका लागि १ लाख ८८ हजार ३ सय ९६ जनाले र कतारमा १ लाख ८४ हजार ५ सय ३ जनाले श्रमस्वीकृति लिएका छन्। चालु आर्थिक वर्षमा कम श्रम स्वीकृति लिने देशमा ओमान, जापानलगायतका देश रहेका छन् ।

    सरकारले श्रम स्वीकृति दिएर विदेश जान अनुमति दिन थालेको २९ वर्षमा चालु आर्थिक वर्ष सबैभन्दा बढीले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो।

    वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले अहिले पनि अन्तर्राष्ट्रिय देशमा वैदेशिक रोजगारी कोभिडभन्दा अगाडिको लयमा नआइसकेको भए पनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा फर्किएको बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs