काठमाण्डाै – प्रतिनिधि सभाको आज आइतवारको बैठकले ‘कारागार विधेयक २०७८’ पारित गरेको छ । लामो समयपछि प्रतिनिधि सभाले याे विधेयक पारित गरेको हो ।
प्रतिनिधि सभाका सदस्यलाई याे विधेयक २०७६ मङ्सिर २९ गते वितरण गरिएको थियो । यस्तै त्यही वर्षकाे माघ २९ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो भने चैत १९ गते सामान्य छलफल भएको थियो । विसं २०७६ चैत २९ गतेदेखि समितिमा दफाबार छलफल भएको थियो ।
प्रतिनिधि सभा दुई पटक विघटन भएपछि याे विधेयकसमेत प्रभावित भएको थियो । सरोकारवालाले बन्दीको अधिकार स्थापित हुने गरी कारागारसम्बन्धी कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।
विधेयकमा राखिएको बन्दीलाई प्रजनन अधिकारसहितको व्यवस्थालाई सांसदहरूले क्रान्तिकारी कदमको सङ्ज्ञा दिएका छन् । उनीहरूले विधेयक पारित भएसँगै चाँडाे भन्दा चाँडाे नियमावली बनाएर कार्यान्वयनमा लैजानसमेत माग गरेका छन् ।