‘फोहोर छ बढेको बढ्यै, मेयर हिँड्छन् फूलमाला लगाउँदै’

  • कालिका खवर
  • बुधबार, साउन ११, २०७९
  • जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका बागी उम्मेदवार मनोज साहले गत स्थानीय तह निर्वाचनमा फोहोर व्यवस्थापनको मुद्दा जोडतोडले उठाएका थिए।

    चुनाव जितेपछि यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता थियो।

    फोहोर र लामखुटेले आजित भएका यहाँका बासिन्दाले साहलाई विश्वास गरेर जिताए तर निर्वाचित भएको दुई महिना बितिसक्दा पनि जनकपुरधामको फोहोर व्यवस्थापनमा कुनै पनि काम हुन सकेको छैन।

    जानकी मन्दिरको पछाडिपट्टि रहेको खाली जग्गामा फोहोर डंगुर लागेको छ। फोहोरमा मरेका कुकुर–बिराला पनि फ्याँकिएका छन्। फोहोरको दुर्गन्ध परसम्म फैलिएको छ। खाली जमिन परिपरिको बस्तीको सबै फोहोर वर्षौंदेखि त्यहीँ फालिन्छ। राजदेवी मन्दिरको गेट अगाडि पनि फोहोर थुप्रिएको छ। प्रादेशिक अस्पतालको गेट छेउको फोहोर नउठेको झन्डै महिना दिन भएको छ।बाह्रबिघाको पश्चिमीतिरको सडक छेउमा पनि फोहोरको थुप्रो लागेको छ। टोलमा फोहोर उठाउने गाडी हप्तामा मुस्किलले एक दिन पुग्छ। संकट मोचन मन्दिर आसपासका टोलमा झन्डै दुई सातादेखि फोहोर उठाउने ट्याक्टर आएको छैन।

    त्यहाँ वरिपरिका बासिन्दाले हप्ता दिन जम्मा गरेर राखेको फोहोर रात परेपछि बाह्रबिघा छेउको खाली जग्गामा फाल्ने गरेका छन्। उनीहरू यसरी फोहर फाल्न बाध्य भएको बताउँछन्। जनकपुर नगरका सबै टोल र चोकको अवस्था उस्तै छ। फोहोर व्यवस्थापन नहुँदा बासिन्दाहरू हैरान छन्। नयाँ जनप्रतिनिधिले पनि फोहोर व्यवस्थापनका लागि ठोस कदम नचालेकोमा असन्तुष्टि बढ्दो छ।

    ‘काठमाडौँ र धरानका मेयर जनताका लागि दिनरात खटिरहेका छन्। हाम्रा मेयर पनि फोहोर व्यवस्थापन गर्न त्यसरी नै खट्नुपर्थ्यो। यहाँ फोहोर र दुर्घन्ध बढेको बढ्यै छ मेयर फूलमाला र खादा लगाउँदै हिडेका छन्, केही गरेको देख्दिनँ,’ वडा नम्बर ११ का बासिन्दा अशोक कर्ण भन्छन्, ‘फोहोर फाल्ने ठाउँ नपाएर धेरैले मेरो घरको बाउन्ड्रीवाल भित्रै फालेर दुर्गन्धित बनाइदिएका छन्।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs