कुनै बेला आआफ्ना घरको छतमा दूरसञ्चारका टावर राखिदिन आग्रह गर्नेहरूले अचेल ती टावर हटाइदिनुपर्यो भन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउन थालेका छन् । नेपाल टेलिकम, एनसेल, स्मार्टलगायत सेवाप्रदायकले नागरिकका घरमा बेस ट्रान्सरिसिभर स्टेसन (बीटीएस टावर) राख्ने गरेका छन् ।
‘पहिले–पहिले टावर राख्न टेलिकम, एनसेललाई भन्दिनुपर्यो भनेर धेरै दबाब आउँथ्यो,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘अहिलेचाहिँ झिकिदिनुपर्यो भनेर पत्र आउँछ । गाउँपालिकाले नै टावर झिक्ने निर्णय गरेर चिठी पठाएको छ ।’
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले पनि काठमाडौंमा टावर राख्नलाई घर नपाएको समस्या सुनाए । राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा बीटीएस टावर राख्न जग्गा प्रयोग गर्ने प्रक्रिया झन्झटिलो हुने गरेको उनको भनाइ छ । उपयुक्त ठाउँमा टावर नराख्दा नेटवर्कमा समस्या हुन सक्छ । नेपाल टेलिकमको सेवाको गुणस्तरका विषयमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिमा बीटीएस टावरका विषयमा टेलिकम प्रतिनिधि, नियामक, सांसद र मन्त्रालयबीच लामै चर्चा भयो । ‘यहाँ सहरमा टावर झिकिदिने कुरा भइरहेको छ, हामी टावर राखिदिनुपर्यो भनिरहेका छौं,’ जुम्लाका सांसद गजेन्द्रबहादुर महतले भने, ‘उता साह्रै समस्या छ । फोन लाग्दैन, डाटा चल्ने त कुरै भएन । टावर बनाउन कति ताकेता गरिसक्यौं, काम भएको छैन ।’
अर्मला गाउँमा एउटा बीटीएस टावर राख्न दुई वर्ष लागेको कास्कीकी सांसद विद्या भट्टराईले अनुभव सुनाइन् । रुकुम पूर्वका कतिपय ठाउँमा विद्युत् सुविधा नभएकाले सोलार पावरको भरमा बीटीएस टावर चलाउनुपर्दा त्यो प्रभावकारी नभएको सांसद कमला रोकको भनाइ छ । अछामका सांसद रामबहादुर विष्टले चाहिँ बीटीएस टावर राख्दा किन चट्याङ पर्छ भनी जिज्ञासा राखेका थिए । महोत्तरीजस्तो सुलभ ठाउँमा पनि दूर सञ्चारका टावरले काम नगर्ने भएकाले एनटीसी र एनसेल दुइटैको सिमकार्ड बोकेर हिँड्नुपर्ने सांसद् इन्दुकुमारी शर्माको भनाइ छ ।