प्रचण्डको अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा, कार्यकाल यादगार बनाउने दाबी

  • कालिका खवर
  • शनिबार, साउन १४, २०७९
  • काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पुनः एक पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्नुभएको छ ।

    शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको हो । उहाँले आफ्नो लागि आगामी चुनावबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताउनु भयो  ।

    उहाँले आफ्नो ‘लास्ट इनिङ’ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना बुनेको बताउनु भयो । अध्यक्ष दाहालले पालिका तहको चुनावको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको चुनावमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गर्नुभयो । उहाँले दोस्रो शक्ति बनाउने गरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी पनि दिनुभयो ।

    यस्तै, अध्यक्ष दाहालले नेत्रविक्रम चन्द, मोहन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा.बाबुराम भट्टराई माओवादी नभएको दाबी समेत गर्नुभयो ।

    अध्यक्ष दाहालले माओवादीले किसान लक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको बताउनु भयो । उहाँले किसानलक्षित बजेट ल्याएका कारण प्रतिक्रियावादीहरु, बुर्जुवाहरु र दलालहरु आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको पनि बताउनु भयो । अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको उल्लेख गर्नुभयो ।

    उहाँले माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले देश विकास गर्ने कुरा माओवादी बिना सम्भव नरहेको उल्लेख गर्दै आउने तीन महिना माओवादीका लागि चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले देशको राजनीतिक मानचित्र बदल्नसक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs