अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै दोहोर्याउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत हुनुभएको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सहभागी गराएको र सीसीटीभी फुटेजसमेत डिलिट गरेको आरोप लागेपछि राजीनामा दिनुभएका शर्मालाई पुनः अर्थमन्त्री नै बनाउन प्रधानमन्त्री र देउवाबीच सहमति भएको प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले जनाएका छन् । प्रधानमन्त्री देउवाले समय मिलाएर शर्माको शपथका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पनि बालुवाटार स्रोतले जनाएको छ ।
त्यसअघि माओवादी अध्यक्ष प्रचण्डले पार्टीको तर्फबाट शर्मालाई मन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री देउवालाई प्रस्ताव पठाउनुहुनेछ ।
शर्मामाथि छानबिन गर्न बनेको संसदीय अध्ययन विशेष समितिले शर्मालाई नै दोषी नठहर्याए पनि प्रष्ट सीसीटीभी फुटेज नदिएको, शर्मा र अनधिकृत व्यक्तिको कल डिटेल हेर्न नदिएको लगायतका विषय भने उल्लेख गरेको छ । समितिमा रहेका नेकपा एमालेका चार जना सांसदले फरक मत पनि राखेका छन् ।