सप्तकोसीको बाँध फुटेपछि बराह क्षेत्रका ५ सय परिवार श्रीलङ्का टापुमा

  • कालिका खवर
  • बुधबार, साउन १८, २०७९
  • उदयपुर – उदयपुरको बेलका नगरपालिका ८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराह क्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् ।

    कोसी नदीको बाँध फुटेर गाउँ पस्दा बराह क्षेत्र ६ र ९ का पाँच सय घरपरिवारका झन्डै दुई हजार पाँच सय जना फसेका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उनीहरू श्रीलङ्का टापुमा फसेको उहाँले बताउनुभयो । त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरू आउन नमानेकाे र फसेकाहरू सुरक्षित रहेकाे बताएको सुनसरीका प्रजिअ यादवले बताउनुभयो ।

    यसैबीच कटान गरिएको क्षेत्रमा १ नम्बर प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्कीसहितले निरीक्षण गर्नुभएको छ । मन्त्री कार्कीसहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारीलगायतको विषयमा निरीक्षण तथा अनुगमन गरेको प्रजिअ यादवले बताउनुभयो । अहिले केहीबेरमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

    बैठक पीडितलाई तत्काल उद्धार, आवश्यक राहतको प्याकेज, स्थानान्तरणलगायतका विषयमा केन्द्रित हुने उहाँले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs