शून्य लागतमा जापान रोजगारी सुरु हुँदै, कामदार लैजाने प्रक्रिया टुङ्गो लगाउन संयुक्त कार्यसमितिको बैठक बस्दै

  • कालिका खवर
  • बिहिबार, साउन १९, २०७९
  • नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउन तयारी सुरु भएको छ ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको हो ।

    अहिले जापानको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । अहिलेसम्म झन्डै ५ हजार ३ सय जनाले जापानिज भाषा र सीप परीक्षा पास गरेका छन् । जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्ल्यू) बाट कामदार लैजानेछ ।

    सन् २०१९ मा नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएको थियो । श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज संयुक्त कार्यसमितिको बैठक बस्दैछ ।

    काठमाण्डौमा हुने बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् ।

    जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो । बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्ने उहाँले बताउनुभयो ।संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs