‘फोहर उठाउन नसक्नेले किन छुट्याएर राख भन्नु ?’

  • कालिका खवर
  • बिहिबार, साउन १९, २०७९
  • अनामनगरका रोशन पाण्डेको घर धोबीखोला किनारामा छ । करिब एक हप्ता अगाडि राति खोलामा केही फालेको आवाज आएपछि उठेर हेर्नुभयो । उठेर हेर्दा फोहर फालेको थाहा भयो । तर, उहाँले थाहा पाएर उठेर हेर्दा फाल्ने मान्छे मोटरसाइकल कुदाएर टाढा पुगिसकेको थियो ।

    पाण्डेको घर अगाडि फोहर थुप्रिएको एक हप्ता भयो । ‘फोहर छुट्याउन भनेर महानगरले भन्यो तर, फोहर उठाउन नआएको सात दिन भइसक्यो,’ पाण्डे आक्रोश पोख्नुहुन्छ, ‘महानगरले विभिन्न बहानाबाजी गरेर फोहर उठाउँदैन । कहिले फाल्न दिएन भन्छ । कहिले बाटो छैन भन्छ । यस पटक के भन्ने हो अहिलेसम्म के भन्ने कारण आएको छैन ।’

    स्थानीयका अनुसार यस पटक काठमाण्डौमा फोहर नउठेको ७ दिन भयो । तर, यस पटक महानगरले पहिले धेरै मान्छेको आवतजावत हुने र सबैको आँखामा पर्ने न्युरोड गेट, भूगोल पार्क, सुन्धारा, मखन जस्ता ठाउँको चोकको फोहर भने उठाएको छ । तर न्युरोडमै पनि रञ्जना गल्लीमा भने फोहर थुप्रिएको छ ।

    रञ्जना गल्लीमा लुगा जुत्ताको होलसेल गरेर बस्नु भएका रोशन शेरचन भन्नुहुन्छ, ‘महानगरले यो दिन गाडी आउँछ । यसरी फोहर छुट्याएर राख्ने भनेर भन्यो । तर, उसले भनेको समयमा न त गाडी आयो, न फोहर उठ्यो’ उहाँको आक्रोश छ, ‘उठाउन नसक्नेले किन भन्नु ।’

    कमलादी चोकमा प्रज्ञा प्रतिष्ठानको बाहिरी पर्खालमा फोहर त्यस्तै डङ्गुर देखिन्छ । हिमालयन बैंकमा सेक्युरिटी गार्डको काम गर्ने अशोक तामाङ फोहरको कारण रुघाखोकी लागेर बिरामी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो फोहरले बिरामी नै बनाइसक्यो । कहिले उठाउने हो थाहा छैन । पहिले पनि यस्तै फोहर थियो । केही समय उठेपछि अहिले फेरि थुप्रिएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs