आरजु राणा उदीयमान नेता हो, अबको प्रधानमन्त्री उहाँ नै हो : नेता विश्वकर्मा

  • कालिका खवर
  • बिहिबार, साउन १९, २०७९
  • नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले नयाँ दिल्लीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाबीच भएको भेटवार्ताबारे गरिएको टिप्पणीप्रति सहमति जनाउनुभएकाे छ । आज (बिहीवार) काठमाण्डौकाे रिपाेर्टर्स क्लबमा भएको एक कार्यक्रममा बोल्दै उहाँले प्रचण्ड दिल्लीमा राजनीतिक भेटवार्तामा रहेको र आरजु पनि उपचारको सिलसिलामा दिल्लीमै रहेकोले भेटवार्ता भएको र त्यो भेटवार्तामा स्वास्थ्य लाभको कामना गरिएको स्मरण गराउनुभयो ।

    उहाँले नेपाली राजनीतिमा प्रचण्ड र आरजु दुवै भोलिका दिनमा प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड र आरजु दुवै जना कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने व्यक्ति त होइन, तर अहिले यस्तो सहमति भएको छैन । यो सबै अफवाह हो । कुन दलको प्रतिनिधि सभामा सिट सङ्ख्या कति आउँछ, त्यसको मतभारको आधारमा सरकारको नेतृत्वको साझेदारीको कुरा आउँछ । नेतृत्वको सवालमा दलहरूबीच अर्को चरणमा  छलफल हुन्छ । अहिले प्रचण्ड र आरजुले सरकार नेतृत्वको गर्ने भन्नेबारे सहमति भयो भन्ने कुरा आयो, यो झुठो हो । आरजु दिल्लीमा हुनुहुन्थ्यो । प्रचण्ड भारत भ्रमणमा जानुभएको थियो, त्यति बेला उहाँ आरजुको स्वास्थ्य लाभको कामना गर्न जानुभयो । डा. आरजु उदीयमान नेता हो । प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र ? तर अहिले यो विषयमा छलफल र चर्चा नै चलेको थिएन । र छैन ।’

    कार्यक्रममा बाेल्दै नेता विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरूबीच प्रतिस्पर्धा हुने बताउनुभयाे । आउँदो चुनावसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने उहाँको भनाइ छ ।

    नेता विश्वकर्माले चुनावमा फलानो दलको फलानो नेता प्रधानमन्त्री बन्ने भनेर अहिले नै उम्मेदवार तोकेर जाने अवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गठबन्धन गरेर नै जाने भनिएको छ, यस्तो बेलामा अहिले फलानो पार्टीका फलानो नेता प्रधानमन्त्रीको उम्मेदवार भनेर जाने अवस्था छैन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs