चितवनमा ५ जनाले त्यागे नेपाली नागरिकता

  • कालिका खवर
  • आइतवार, साउन २२, २०७९
  • चितवनमा रहेका पाँच जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गएकाे आर्थिक वर्षमा यहाँ स्थायी बसोवास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपाली नागरिकता त्याग गरेका हुन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी टीकाराम वाग्लेका अनुसार यस्ता नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका छन् । यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी छन् ।

    उहाँका अनुसार यस जिल्लाबाट यही समयमा ६ जनाको नागरिकता रद्द गरिएको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ । वाग्लेका अनुसार झुटा विवरण पेस गरी दुई वटा नागरिकता लिएको, अन्य जिल्लाबाट समेत नागरिकता लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गरिने गरिन्छ । त्यही क्रममा जिल्लाबाट ६ जनाको नागरिकता रद्द गरिएको हो ।

    यस्तै गएकाे अर्थिक वर्षमा १८ हजार तीन सय ९७ जनाले वंशजका आधारमा नागरिकता लिएका छन् । अङ्गीकृत नागरिकता लिने आठ जना रहेका कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अङ्गीकृत नागरिकता लिनेहरू आमा–बुवासमेत अङ्गीकृत नागरिकता लिएकाहरूको परिवार रहेका छन् । १५ वर्ष नेपालमा बसोबास गरेका, नेपाली भाषा बोल्न र लेख्न जान्नेलाई यो नागरिकता दिने गरेको भए पनि गएकाे वर्ष अङ्गीकृत नागरिकता पाएका परिवारबाहेक अन्यले पाएका छैनन् ।

    न्यौपानेका अनुसार कार्यालयबाट ४३ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । नेपाली पुरुषसँग विवाह गरेर आएका विदेशी महिलाले यो नागरिकता लिने गरेका हुन् । जिल्लामा गएकाे आर्थिक वर्षमा १२ हजार १७ जनाले प्रतिलिपि नागरिकता लिएका थिए । २५ हजार चार सय ८५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs