आदिवासी, जनजातिकाे हितमा सरकारले धेरै काम गर्दै आएकाे छ : प्रधानमन्त्री

  • कालिका खवर
  • सोमवार, साउन २३, २०७९
  • प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्त्वपूर्ण काम गर्दै आएको बताउनुभएको छ ।

    २८ औँ विश्व आदिवासी दिवसको अवसरमा आज साेमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भएअनुसार उनीहरूको हक, अधिकार र सुविधा दिने काममा पनि सरकार सधैँ क्रियाशील रहेको बताउनुभयो । आदिवासी, जनजातिको पहिचान गर्ने र उनीहरूको भाषा, कला, संस्कृतिको संरक्षण र संवर्द्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उहाँले स्मरण गराउनुभयो ।

    उहाँले भन्नुभयो, ‘वर्तमान सरकार संविधानमा उल्लेख गरिएका आदिवासी, जनजातिका हक, अधिकार र सुविधाका विषयमा उत्साहका साथ क्रियाशील रहँदै आएको छ । आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरी आदिवासी, जनजातिको पहिचान गर्ने, उनीहरूको भाषा, कला, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने काम मेरो नेतृत्व रहेको यसअघिको सरकारले नै गरेको स्मरण गराउन चाहन्छु ।’

    प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिको उत्थान नभइ देशलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने कुरालाई आत्मासत् गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै आदिवासी, जनजातिको उत्थान गरेर मात्रै देशको समुन्नति हुने भएकाले आफ्नाे पार्टीले त्यस विषयमा गम्भीर भएर काम गरिरहेको दाबी गर्नुभयो । उहाँले एमालेले अघि सारेको समृद्ध देश बनाउने अभियानमा आदिवासी, जनजाति अटाउन नसक्ने जिकिरसमेत गर्नुभयो । कांग्रेसले मात्रै उनीहरूको हक, अधिकार र सुविधाका लागि काम गरिरहेको महामन्त्री थापाको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs