क्वाँटी स्वास्थ्यको लागि फाइदाजनक

  • कालिका खवर
  • शुक्रबार, साउन २७, २०७९
  • जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ ।

    क्वाँटीमा मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ । यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।

    वर्षाको बेला पानीमा भिज्दै काम गर्दा शरीर कमजोर हुने र चिसो लाग्ने भएकाले वर्षा सकिने यो बेला शरीरलाई चिसोबाट बचाउन र शरीरलाई शक्ति मिलोस् भनेर क्वाँटी खाने गरिएको हो । डाक्टरहरुका अनुसार क्वाँटी स्वस्थकर र पोषिलो खानेकुरा हो । टुसा उम्रेको डेगागुडीमा भिटामिन ‘सी’ र रेसा हुन्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउन र पाचन प्रणाली राम्रो गराउन सहयोग पुग्छ ।

    पोषणविद् डाक्टर मनसा थापा कठुराठीका अनुसार क्वाँटीले मधुमेहका बिरामीको शरीरमा चिनीको मात्रा कम गर्छ र मुटुको रोग लाग्नबाट पनि बचाउँछ । यसले कब्जियत हटाउन, उच्च रक्तचाप र कोलेस्टेरोल नियन्त्रण, शारीरिक र मानसिक स्वास्थ्य सुधारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    क्वाँटी खाँदा स्मरणशक्ति र सौन्दर्यता पनि बढ्ने जानकारहरु बताउँछन् । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेदका चिकित्सक डा. शेषराज आचार्य बताउनुहुन्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs