मिस वर्ल्ड तयारीका लागि अमेरिका भ्रमणमा पुगेकी मिस नेपाल प्रियंकारानी जोशी स्वदेश फर्किएकी छन् । उनको न्युयोर्क भ्रमणको मुख्य उद्देश्य मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका लागि दाता जुटाउनु हो ।
यो विधासँग प्रियंकाको लगाव किन पनि छ भने नेपाल यो विधाको प्रमुख दाबेदार हो । नेपालले विगतमा चार-पाँचवटा ब्युटी विथ पर्पस विधा जितेको छ । यो विधा जित्न सकिए मिस वर्ल्डको फाइनलमा सिधै पुग्न सकिने अर्को फाइदा पनि छ ।
यी दुई कारणले प्रियंकाको जोडबल ब्युटी विथ पर्पस विधामा छ । यसपटक उनी बिजुली नपुगेको नेपालको दुर्गम थलोमा सोलार बिजुली पुर्याउन चाहन्छिन् । अमेरिका भ्रमणको क्रममा उनले यसपटक गैरआवासीय नेपालीलाई लगानीको लागि आग्रह गरिन् ।