सत्तारूढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाउनुभएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले जस्तोसुकै सम्मानित पद भए पनि नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार नभएको बताउनुभएको हो । नागरिकता विधेयक ढुङ्गाको अक्षर नभएको उल्लेख गर्दै नेता रिजालले त्यसलाई तत्काल पारित गरेर लैजानुपर्ने बताउनुभयो । संसद्को कुनै पनि सदस्यलाई नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
नेता रिजालले भन्नुभयो, ‘पुनर्विचार गरियोस् भनेर नागरिकता विधेयक फिर्ता आएको छ । यति चाहिँ भन्नु आवश्यक छ कि नेपालमा केही मानिसलाई नागरिकता बनाएरै राख्ने सोचबाट नेपालले मुक्ति पाउनुपर्छ । एउटै परिवारको दाजुले नागरिकता पायो, बहिनीले नपाउने अवस्था छ । यो समस्या समाधान हुनुपर्छ । आज पास गरिएको नागरिक विधेयक ढुङ्गाको अक्षर होइन । पछि अरू कुरा पनि थप्न सकिन्छ । त्यो गरौँला । तर आज यही बहानामा लाखौँ नेपालीलाई नागरिकताविहीन बनाउने, देशविहीन बनाउने षड्यन्त्र गर्ने अधिकार हामीलाई छैन । कुनै व्यक्तिलाई पनि अधिकार छैन । कुनै पनि सम्मानित पदमा बसेको व्यक्ति होस् त्यो अधिकार छैन । ’
उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने तर्क गर्ने एमाले सांसदहरूले अहिले आएर विधेयक फिर्ता गर्दा भने उपयुक्त छ भनेर भनेको सुन्दा आफू चकित भएको बताउनुभयो ।
नेता रिजालले एक थरी अनुहारकाले अर्को थरी अनुहारकाको राष्ट्रियतामाथि प्रश्न उठाउने प्रचलन रहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।