प्रतिनिधिसभा सदस्यका लागि २ र प्रदेश सभा निर्वाचनका लागि ४ वटा निर्वाचन क्षेत्रको रुपमा निर्धारण गरिएको मकवानपुरमा चुनावी रौनक सुरु भइसकेको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणासँगै जिल्लामा उम्मेदवार चयनका लागि प्रमुख दलका नेताहरूले गृहकार्य सुरू गरेका छन् । सरकारले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ ।
मकवानपुरमा संघ तथा प्रदेशको आगामी निर्वाचनका लागि नेताहरूको कहाँबाट उम्मेदवार बन्लान् ? भन्ने परिचर्चा सुरू भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै संघ तथा प्रदेश सांसदका आकांक्षीहरुको चर्चा सुरु भइरहेको हो । मकवानपुरमा अन्य आकांक्षीहरुको बारेमा त्यति बहस नभए तापनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताउँदै आएका दीपक सिंहको चर्चा छुट्टै छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर पदमा समेत उम्मेदवारी दिएर पराजित बनेका सिंहको त्यो पाँचौँपटकको हार थियो । पटक–पटक स्थानीय निर्वाचन, संविधान सभा निर्वाचन तथा संघीय निर्वाचनमा समेत हार व्यहोरेका सिंह सातौँपटक आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेको बताउँछन् ।
आफूले उम्मेदवारीको विषयमा मुख नखोले पनि जनताले रुचाएर नाम उच्चारण गरिरहँदा साँच्चैै निर्वाचनमा म उठ्नुपर्छ भन्ने भान भइरहेको बताउँदै सिंहले भने, ‘केन्द्रबाट निर्णय आएको छैन । कसलाई कहाँ उठाउने भन्ने पनि निर्णय गर्न बाँकी नै छ । अहिले म पार्टी सुदृढीकरणमा लागिरहेको छु । राप्रपालाई बलियो र संगठनात्मक बनाउन जुटिरहेका छौँ । यससँग सँगै आसन्न निर्वाचनका लागि तयारी पनि भइरहेको छ ।’
उम्मेदवारीको चर्चा चलिरहँदा तपार्इंको आकंक्षा संघमा कि प्रदेशमा ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘प्रदेशको त म विरोधी नै हो । प्रदेशको संरचना खारेज गर्न लागिपरेको मलाई प्रदेश सांसद चाहिँदैन ।’ प्रदेश संरचना भनेको उपलब्धि गराउनेभन्दा पनि राष्ट्रलाई रित्याउने बताउँदै सिंहले अबको निर्वाचनमा प्रतिनिधिसभा सांसदमा नै आफ्नो उम्मेदवारी रहने बताए ।
पाँचपटकको थोरै मतान्तरले हार व्यहोर्न परेको स्मरण गर्दै उनले जतिपटक हारे पनि मनले हार नखाएको र आसन्न निर्वाचनमा विजयी भएर मन्त्री हुने आशामा रहेको बताए । ‘मेयरको उम्मेदवारी दिइरहँदा पनि साथीभाइकै बलबुतामा उम्मेदवारी दिएको थिएँ । अहिले पनि तपार्इं प्रतिनिधिसभामै उठ्नुपर्छ भनेर हौसला दिइरहेका छन्,’ सिंहले भने ।