राष्ट्रपतिले दिएकाे सन्देशलाई सरकार र संसदले गम्भीररूपमा लिएन– कानुनविद्

  • कालिका खवर
  • शुक्रबार, भदौ ३, २०७९
  • राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद्हरूसँग छलफल गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे हिजाे बिहीवार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतल निवासमा संविधानविद्, कानुनविद् र सम्बन्धित सरोकारवाला पक्षहरूलाई बोलाएर छलफल गर्नुभएको हो ।

    छलफलमा सविधानविद् डा. सुरेन्द्र भण्डारी, संविधानविद् डा. भीमार्जुन आचार्य, संविधानविद् डा. विपिन अधिकारी, अधिकारकर्मी सुबाेध प्याकुरेल, वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ र ध्रुवहरि अधिकारीलगायतको उपस्थिति थियो । छलफलमा सहभागीहरूले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रपतिले दिएको सन्देशलाई सरकार र संसदले गम्भीररूपमा नलिएको टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलका क्रममा उनीहरूले राष्ट्रपतिले संवैधानिक दायराअनुसार दिएको सुझावहरू मनन नगरि हतारमा संसदीय मर्यादा विपरीत सरकार अघि बढेको बताए ।

    छलफलमा संविधानविद् डा. सुरेन्द्र भण्डारीले राष्ट्रप्रमुखले गरेका प्रत्येक संवैधानिक कदमका जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास भए पनि नेपालमा भने दुर्भाग्यपूर्ण अवस्था देखिएकाे बताउनुभयो । उहाँले संसदमा छलफल गर्नुभन्दा अगाडि संविधानले नचिनेको गठबन्धनले विधेयकको बारेमा निर्णय गरेको बताउनुभयो ।

    त्यस्तै अर्का संविधानविद् डा. विपिन अधिकारीले राष्ट्रपतिको सन्देशमाथि संसदमा छलफल हुनुपर्ने भए पनि संसदमा आवश्यक विषयमा छलफल नै नभएको बताउनुभयो । अधिकारीले अबका विकल्प जोखिमपूर्ण रहेको भन्दै देशले ठूलो जोखिम मोल्नुपर्ने अवस्था भएकोले सुझबुझपूर्ण निर्णय गर्नुपर्ने सुझाव दिनुभयो ।

    त्यस्तै संविधानविद् डा. भीमार्जुन आचार्यले पनि राष्ट्रपतिको सुझाव संवैधानिक प्रयोगको उत्कृष्ट प्रयोग भएको बताउनुभयो । आचार्यले सभ्य समाजले कल्पना गर्न पनि नसक्ने काम सरकारबाट भएको भन्दै संविधानको सिद्धान्तअनुसार राष्ट्रप्रमुखले अबको निर्णय लिनुपर्ने सुझाव दिनुभयो । उहाँले लोकतन्त्र निजी लोकतन्त्रजस्तो भएको टिप्पणी गर्दै सरकारमा हदैसम्म को अहङ्कार देखिएको बताउनुभयो । उहाँले चुनाव घोषणा भएपछिको सरकारले दीर्घकालसम्म असर पर्ने काम गर्न नहुने संवैधानिक मान्यतालाई लत्याएको उल्लेख गर्दे संसदभित्रको गतिविधि पनि आपत्तिजनक रहेको बताउनुभयो ।

    त्यस्तै अधिकारकर्मी सुबाेध प्याकुरेलले उग्र अराजकताका कारण देश ज्वालामुखीमाथि उभिएको अवस्थामा रहेको टिप्पणी गर्नुभयो । उहाँले अति कानुनका कारण देश बिग्रिएको भन्दै देशमा खास राजनीतिक सङ्क्रमण सुरु भएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs